कुशलको अर्धशतक र गुलशनको आक्रामक फिनिस, नेपालले दियो कुवेतलाई चुनौतीपूर्ण लक्ष्य

बुधबार, २२ असोज २०८२

कुशल भुर्तेलको अर्धशतक र गुलशन झाको आक्रामक फिनिसिङसँगै नेपालले कुवेतविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक स्कोर बनाएको हो।

कुशलले सन्तुलित अर्धशतक प्रहार गरे भने अन्त्यतिर गुलशनले तीव्र गतिमा रन जोड्दै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याए।

पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल इन्निङ्सको सुरुदेखि अन्तिम ओभरसम्म क्रिजमा उभिए। उनले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको उत्कृष्ट पारी खेले। यो उनको टी–२० अन्तर्राष्ट्रिय करिअरको १२औँ अर्धशतक हो। उनलाई २०औँ ओभरको पाँचौँ बलमा कुवेतका अनुदीप चन्दमाराले बोल्ड गरेका थिए।

अन्तिम ओभरतिर गुलशन झाले ६ बलमा २० रन बनाउँदै आक्रामक फिनिसिङ गरे। उनले यसक्रममा ३ छक्का प्रहार गरेका थिए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २० रन र कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे। नेपालका अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

कुवेतका अनुदीप चन्दमारा र नविनराज राजेन्द्रनले समान २ विकेट लिए भने मोहम्मद अस्लम र मोहम्मद फारुकले प्रत्येकी १ विकेट हात पारे।

अब कुवेतले जितका लागि १४२ रन बनाउनुपर्ने छ ।

ओमानको अल अमेरातमा सुरु भएको टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा कुवेत र जापानसँग रहेको छ। नेपालले समूह चरणको दोस्रो खेल जापानविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार