काठमाडौं : अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक रूपमा प्रस्तुत गरेको भन्दै तीव्र आपत्ति जनाएको छ। मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा ‘किसानझैँ फोहर’ भन्ने अभिव्यक्ति दिएको भन्दै महासंघले तत्काल स्टाटस हटाई सार्वजनिक माफी माग्न चेतावनी दिएको हो।
महासंघका अध्यक्ष डा. प्रेम दंगालद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्ति किसान समुदायको स्वाभिमानमाथि गरिएको गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख उत्पादक शक्ति किसानलाई होच्याउने, अपमानित गर्ने र उनीहरूको आत्मसम्मानमा चोट पुर्याउने भनाइ अत्यन्त निन्दनीय छ।”
किसान महासंघले मेयर साह जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो असंवेदनशील भनाइ आउनु दुःखद रहेको जनाएको छ। महासंघले बालेनलाई तुरुन्तै आफ्नो स्टाटस हटाउन र किसानसँग माफी माग्न आग्रह गर्दै अन्यथा विरोधका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यदि मेयर साहले आफ्नो गल्ती सच्याएर माफी नमागे महासंघले देशभर विरोध कार्यक्रम सञ्चालन गर्नेछ।” महासंघले किसानलाई अपमानित गर्ने कुनै पनि अभिव्यक्तिको विरोधमा दृढतापूर्वक उभिने जनाएको छ।
यसबीच बालेन साहले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। सामाजिक सञ्जालमा भने उक्त स्टाटसलाई लिएर चर्को बहस र आलोचना चलिरहेको छ।
प्रतिक्रिया