काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
चारवटै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् ।
विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।
यसअघि सोमबार सम्पन्न खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले एक करोड १० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।
प्रतिक्रिया