झापा : शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की सरकारी सवारी साधनको निरन्तर दुरुपयोग गरेको आरोपमा पुनः विवादमा तानिएकी छन्।
मंगलबार नेकपा एमाले शिवसताक्षी–११ ले आयोजना गरेको शोकसभामा उनी नगरपालिका नाममा दर्ता भएको मे १ झ १३१ नम्बरको रातो प्लेटको सरकारी गाडीमै सवार भएर पुगेकी थिइन्। सो कार्यक्रममा नगर प्रमुखलगायत अन्य जनप्रतिनिधि निजी सवारी साधनमै आए पनि उपप्रमुख मात्र सरकारी गाडी प्रयोग गरेको देखिएपछि स्थानीयले नै प्रश्न उठाएका छन्।
स्थानीयवासीका अनुसार “नगर प्रमुख निजी स्कुटीमा आउँछन्, अन्य जनप्रतिनिधि पनि आफ्नै साधनमा कार्यक्रम पुग्छन्। उपप्रमुखले मात्र पार्टी र निजी कार्यक्रममा सरकारी गाडी किन प्रयोग गर्नुपर्छ ?”
यसअघि पनि उपप्रमुख कार्कीले सरकारी गाडी निजी काम, पारिवारिक गतिविधि तथा राजनीतिक भेटघाटमा प्रयोग गरेको गुनासो स्थानीय तहमा उठ्दै आएको थियो। तर यसपटक प्रत्यक्ष सार्वजनिक पार्टी कार्यक्रममा सरकारी गाडी देखिनुले आलोचना झनै तीव्र बनेको छ।
सरकारले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई उपलब्ध गराएको सवारी साधन जनसेवा, निरीक्षण, अनुगमन तथा प्रशासनिक कामका लागि मात्र प्रयोग गर्न सकिने स्पष्ट कानुनी व्यवस्था छ। करदाताको पैसामा किनिएका यी साधनहरू व्यक्तिगत वा राजनीतिक प्रयोजनमा चलाउनु सार्वजनिक स्रोतको दुरुपयोग मानिन्छ।
सार्वजनिक सम्पत्ति (संरक्षण) ऐन र भ्रष्टाचार निवारण ऐन अनुसार सरकारी साधनको गैरकानुनी प्रयोग दण्डनीय अपराध हो। यस्तो कार्यमा संलग्न पदाधिकारीलाई जरिवाना, क्षतिपूर्ति, अनुशासनात्मक कारबाही तथा भविष्यमा सार्वजनिक पद धारण गर्न रोकसम्मका कडा कानुनी प्रक्रिया लागू हुने प्रावधान छ।
कानुन व्यवसायीहरूका अनुसार राजनीतिक दलका कार्यक्रममा सरकारी संसाधन प्रयोग गर्नु राज्यको तटस्थतामाथि सीधा चोट हो।
स्थानीयवासीले उपप्रमुख कार्कीको कार्यशैलीले पारदर्शिता र जवाफदेहिताप्रति शंका पैदा गरेको भन्दै जनप्रतिनिधिको आचरण प्रतिकूल रूपमा प्रकट भएको टिप्पणी गरेका छन्।
नेकपा एमालेबाट निर्वाचित कार्कीले तत्कालीन माओवादी केन्द्रका नेता महेन्द्र भट्टराईलाई पराजित गर्दै उपप्रमुख पद जितेकी थिइन्। उनी हाल एमाले झापाको जिल्ला सदस्य पनि हुन्।
प्रतिक्रिया