धरान। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता २०८२ पुस ९ गतेदेखि सुरु हुने भएको छ । आयोजक प्रहरी विद्यालयले आज धरानमा पत्रकार सम्मेलन गर्दै सातौँ संस्करणको प्रतियोगिता पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ।
डीआईजीपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको प्रतियोगिता यस वर्ष पुनः सुरु गर्न लागिएको प्रतियोगिता संयोजक सुरेश कुमार हायूले बताए। उनले भने, “मित्रताको लागि निष्पक्ष खेल” भन्ने नारासहित विद्यालय तहबाटै खेलकुदको प्रवद्र्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।
यस वर्षको संस्करणमा कोशी प्रदेशका १६ विद्यालय टोली सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा आयोजना हुनेछन्। यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत र एन्फा लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीहरूले मात्र प्रतियोगितामा भाग लिन पाउने संयोजक हायूले जानकारी दिए।
विजेता टोलीले रु. ८१ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ४१ हजार ५ रुपैयाँसहित समान पुरस्कार पाउनेछन्। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचले जनही रु. २ हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै, विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
हरेक खेलको म्यान अफ द म्याचले रु. १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोजकले प्रतियोगितामा सहभागी सबै खेलाडी र टोलीलाई निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया