काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशद्वारा मंगलवार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताए ।
वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनको दाबी छ । उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताए ।
निर्वाचन हुँदैन भन्नेहरुलाई सरकारले कामले जवाफ दिने र दिइरहेको उनको भनाई छ । एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्नै नसक्ने बताउँदै आएका छन् ।
गृहमन्त्री अर्यालले आफ्नो ईच्छाले आफूहरु सरकारमा नआएको पनि बताए । देश शुन्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरुको केन्द्रित रहेको उनको भनाई छ ।
उनले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । संघिय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उनले जानकारी दिए ।
केन्द्रिय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उनको भनाई छ । उनले निर्वाचनको लागि राजनितिक दलहरुले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औल्याएको उल्लेख गर्नुहुँदै विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याईसकेको दाबी गरे । ठूलो संख्यामा कैदीहरु पनि फिर्ता भईसकेको उनको भनाई छ ।
उनले निर्वाचनको तयारी स्वरुप नै लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको बताए । अन्य प्रदेशमा पनि गोष्ठी आयोजना गर्ने उनको भनाई छ ।
उनले प्रहरीहरुलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पुरा गर्न पनि निर्देशन दिए । उनले राजश्व चुहावट नियन्त्रणलाई विशेष ध्यान दिन निर्देशन दिए ।
प्रतिक्रिया