निर्वाचनको वातावरण बनाउन सरकारलाई उत्प्रेरित र दबाब दिनेछौं : प्रचण्ड

मंगलबार, ०९ मंसिर २०८२

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए।

उनले भने, ‘जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ। यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौ। राजनीतिक दलहरुलाई अपिल गर्ने छौ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौ। दबाब पनि सिर्जना गर्ने छौं र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्ने छौ।’

यस्तै, उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको पनि उनको भनाई छ।

उनले भने, ‘नेपालमा विद्यमान राष्ट्रिय संकटको जुन अवस्था छ त्यसको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने महान उद्देश्यका साथ अघि बढेका छौं। ढिलो–छिटो सबै सच्चा कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीहरु नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा जोडिने छन्।’

साथै, उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरुको लागि काम गर्नेतर्फ लागेको पनि बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार