मदरसा शिक्षा बोर्ड गठनका मागसहित मुस्लिम समाज मोरङद्वारा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

मंगलबार, ०९ मंसिर २०८२

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ। समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन आवश्यक रहेको भन्दै प्रदेश सरकारसँग औपचारिक रूपमा माग प्रस्तुत गरेको हो।

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको उल्लेख छ। यी संस्थाहरूले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आए पनि आवश्यक संरचना, नीति र सरकारी समन्वयको अभावमा सञ्चालनमा चुनौती देखिएको समाजको भनाइ छ।

मुस्लिम समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेकाले मदरसा शिक्षालाई संस्थागत रूपमा व्यवस्थापन गर्न प्रदेश सरकारले स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ। साथै, राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारको प्रणालीमा ल्याउने व्यवस्था गरेकाले त्यसअनुसार प्रदेश सरकारले पहल गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

ज्ञापनपत्रमा पाँच बुँदेमार्फत मदरसा शिक्षा बोर्ड गठन, पाठ्यक्रमको एकरूपता, शिक्षकको क्षमता विकास, सरकारी समन्वय तथा अनुगमन प्रणालीको निर्माणलगायत मागहरू समावेश छन्।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले उठाएका मागहरू गम्भीर प्रकृतिका रहेको बताए। उनले कोशी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनामा आधारित रहेकाले सबै धर्म र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, मुस्लिम समुदायको माग सम्बोधन गर्न सरकार आवश्यक पहल गर्ने उनले आश्वासन दिए।

समाजले प्रस्तुत गरेको ज्ञापनपत्रले प्रदेशस्तरमा मदरसा शिक्षाको दीर्घकालीन संरचना निर्माणबारे थप चर्चा सुरु हुने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार