उदयपुर । केही महिना अघि नेकपा एमालेबाट कारवाहीमा परेका उदयपुरका बिमल कार्कीले पुनः एमालेको राजनीतिमा सक्रिय हुने बताएका छन्।
नेकपा एमालेमा लामो समय राजनीति गरेका पूर्व कोशी प्रदेश सभा सदस्य समेत रहेका कार्कीले वर्तमान राजनीतिक परिस्थितिमा पुरानै राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै पुनः नेकपा एमालेको राजनीतिमा सक्रिय हुने इच्छा व्यक्त गरेका हुन् ।
पार्टी नेतृत्वसँगको असन्तुष्टिलाई लिएर सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति दिएका कारण कार्र्की एमाले कोशी प्रदेश कमिटीको कारबाहीमा परेका थिए । पछिल्लो समय कार्कीले देशको राजनीतिक अवस्थालाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै सामाजिक सञ्जालमार्फत नेकपा एमालेका उम्मेदवारहरूको पक्षमा मतदान गर्न सम्पूर्ण मतदातामा अपिल गरेका छन् ।
कार्कीले सामाजिक सञ्जालमा हाल आफू कुनै पनि राजनीतिक दलमा औपचारिक रूपमा आवद्ध नभए पनि स्वतन्त्र चिन्तकको हैसियतले मुलुकको राजनीतिप्रति निरन्तर चासो र चिन्तन गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आफूलाई “नयाँ र वैकल्पिक राजनीतिक शक्ति” दाबी गर्ने केही समूहहरूले देखाइरहेका गतिविधि राजनीतिक परिपक्वताभन्दा बढी प्रहसन र नौटङ्कीमा सीमित देखिएको समेत कार्कीले उल्लेख गरेका छन्। यस्ता गतिविधिले देशलाई अझै अनिश्चितताको दिशामा धकेल्ने खतरा रहेकाले दुर्घटनाको डिलमा पुगेको देशलाई जोगाउन अहिले पुरानै राजनीतिक शक्तिको आवश्यकता रहेको निष्कर्षमा पुगेको पनि कार्कीले जनाएका छन् । कार्कीले स्पष्ट रूपमा भनेका छन्, “देशलाई अहिलेको संकटबाट उकास्न सक्षम शक्ति नेकपा एमाले नै देखिन्छ ।”
उनका अनुसार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा चट्टानी दृढता र अडान भएको नेतृत्व क्षमता छ । यद्यपि, उनले ओलीप्रति अन्ध समर्थन नगरेको स्पष्ट पार्दै आफू विगतमा पनि आलोचक रहेको र अहिले पनि आलोचक नै रहेको बताएका छन् ।
“जबसम्म नेतृत्वमा सुधार हुँदैन, तबसम्म मेरो दृष्टिकोण परिवर्तन हुँदैन,” उनले उल्लेख गरेका छन् । नेकपा एमालेका पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका कार्कीले पार्टीभित्र र बाहिर स्वच्छ र स्वस्थ लोकतन्त्र हुनुपर्छ भन्ने मान्यता आफू सधैं बोकेर हिँड्ने व्यक्ति भएको पनि बताएका छन् ।
प्रतिक्रिया