मधेशमा चिसोको कहर, जनजीवन प्रभावित

शनिबार, ०५ पुस २०८२

रौतहट : रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केहि दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए ।

उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । शितलहर सहितको चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेको उनको भनाइ छ । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको उनले जानकारी दिए । दैनिक मजदुरी गरेर जिबिकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताउने देखिएको छ। यो चिसोमा सडक नै सुनसान हुने र मानिसको चहलपहल कम हुँदा अपेक्षा अनुसार कमाइ नभएको रिक्सा मजदुर हरिराम यादवले बताए ।

यसअघि दैनिक करीब दुई हजार सम्म हुने गरेपनि अहिले पाँच सय सम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालदरी मजदुर कृष्ण महराको भनाइ छ ।

हरेक जाडोयाममा रौतहट सहित तराई मधेश क्षेत्रमा निकै दिनसम्म पनि शितलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ । यो चिसोमा शितलहरका कारण मानिस संगै पशु चौपाय र कृषि बालीमा पनि असर गरेको छ । चिसोका कारण सबभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।

चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।बाक्लो हुस्सु तथा शितलहरका कारण मधेशका जिल्लाका हवाई उडान प्रभावित भएको छ । सिमरा बिमानस्थलका अनुसार शनिबार दिउँसो १ बजेदेखि मात्र हवाई उडान भएको हो । चिसोका कारण अस्पतालहरुमा बिरामीको चाप देखिन्छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार