ताप्लेजुङ: सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको नेपाल एमाले का उपमहासचिव योगेशकुमार भट्टराईले बताए । प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुने ,नहुने र पार्टी सहभागी हुने, नहुने अन्योल रहेकोमा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिएका हुन् ।
निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै भट्टराईले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।
गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल घटेको, हजारौँ कैदीबन्दी फरार रहेका र हतियार लुटिएका विषयमा पार्टीले गम्भीर चासो व्यक्त गरेको उपमहासचिव भट्टराईको भनाइ रहेको छ । सरकारले यी विषयमा संवेदनशील रहेको प्रतिक्रिया दिएपछि नेकपा एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको भट्टराईले जानकारी दिएका हुन् ।
भट्टराईले यो निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न हुनुका साथै लोकतन्त्र तथा संविधानको पुनःस्थापनाका लागि निर्णायक हुने धारणा समेत राखेका थिए । गत भदौ २३ गते सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ताको माग गर्दै भएको नवयुवा आन्दोलनका माग जायज रहेका भन्दै उपमहासचिव भट्टराईले यसमा एमालेको कुनै विपत्ति नरहेको स्पष्ट समेत पारेका थिए ।
यसैबीच, ताप्लेजुङको जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उपमहासचिव भट्टराई सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया