विराट नर्सिङ्ग होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा

आइतबार, २० पुस २०८२

विराटनगर : विराटनगरस्थित विराट नर्सिङ्ग होमले स्वास्थ्य सेवालाई थप सुदृढ बनाउँदै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ।

कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्ननसँग सम्बन्धित जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यसहित शनिबार उद्घाटन गरिएको क्याथ ल्याब आइतबार एक कार्यक्रमबीच औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ।

सेवाको शुभारम्भ गर्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात र स्ट्रोकजस्ता आपतकालीन अवस्थाहरूमा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च रहने उल्लेख गर्दै सो जोखिम न्यूनीकरण गर्न अत्याधुनिक प्रविधि भित्र्याइएको बताए। उनले यो सेवाले विराटनगरसहित नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचारमा सहजता मिल्ने जनाए।

विराट नर्सिङ्ग होमले कोशी र मधेश प्रदेशमै पहिलोपटक एउटै छानामुनि कार्डियाक, न्यूरो र इन्टरभेन्स्नल रेडियोलोजीसम्बन्धी तीनै विशेषज्ञ सेवा उपलब्ध गराइएको दाबी गरेको छ। हस्पिटलका अनुसार यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित रहेको छ, जसले कम विकिरण प्रयोग गरी छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया सम्पन्न गर्न सहयोग पुर्‍याउँछ।

हस्पिटलका सिइओ डा. निकिता कार्कीले नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थामा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञहरूबाट २४ सै घण्टा सेवा उपलब्ध हुने जानकारी दिए। उनका अनुसार हस्पिटलमा एमडीजीपी चिकित्सकसहितको आकस्मिक सेवा, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स तथा १५ शैयाको एडभान्स सीसीयूको सुविधा रहेको छ।

मुटुरोग तथा अन्य आपतकालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य परीक्षण गराउन हस्पिटलले आग्रह गरेको छ।

क्याथ ल्याब सञ्चालनको अवसरमा हस्पिटलले विशेष सहुलियतसमेत प्रदान गरेको थियो। हस्पिटल प्रशासनका अनुसार प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा हालसम्म १९ जना बिरामीले सो सुविधा लिएका छन्। साथै, सीसीयू शुल्क तथा विभिन्न निदान सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार