मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित

आइतबार, २० पुस २०८२

जनकपुरधाम : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेको विषयमा चिन्ता व्यक्त गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आइतबार जनकपुरधाममा आयोजित ‘साक्षरता प्रदेश घोषणा अभियान तयारी’ सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि रहे पनि हाल कमजोर अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे ।

मधेस प्रदेश आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि देखिए पनि शिक्षाको क्षेत्रमा कसरी र किन पछि पर्‍यो भन्ने विषय गम्भीर अध्ययनको विषय भएको उनले बताए । शिक्षा क्षेत्रको दिगो र प्रभावकारी विकासका लागि संघ, प्रदेश र स्थानीय तह तीनै सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

“प्रविधिको यो युगमा पनि साक्षर नहुनु ठूलो विडम्बनाको विषय हो,” मन्त्री पुनले भने ।

सो अवसरमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर रहेको उल्लेख गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्र सुधारका लागि योजनाबद्ध रूपमा अघि बढिरहेको बताइन् । शिक्षा क्षेत्रको दिगो विकासका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य अञ्जना पण्डितले मधेसको शिक्षासम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकारले गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममार्फत साक्षरता प्रदेश घोषणाको तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार