कोटगढीको संरक्षण र प्रवर्द्धनमा पौवादुङमा सक्रिय

आइतबार, २० पुस २०८२

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यसहित गाउँपालिकाले कोटगढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।

गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्न गाउँपालिकाको ३५ लाख रुपैयाँ बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । पदमार्ग निर्माणसँगै स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा पुगेको उनले बताए ।

अध्यक्ष राईले कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न विशेष योजना बनाएर काम भइरहेको बताए । “कोटगढी आफैंमा ऐतिहासिक सम्पदा हो,” उनले भने, “स्थानीय सरकारले यसको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पूर्वाधार विकास र प्रचारप्रसारलाई सँगसँगै अघि बढाइरहेको छ ।”

यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने उद्देश्यले संघीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त १ लाख रुपैयाँ सहयोगमा कोटगढी परिसरमा मन्दिर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहासप्रेमीहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले पौवादुङमा गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूको एकीकृत विकासमा जोड दिइएको बताए । “गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिएका छौँ,” उनले भने, “कोटगढीजस्ता ऐतिहासिक स्थलको संरक्षणले पर्यटन प्रवर्द्धनसँगै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।”

स्थानीयका अनुसार कोटगढी क्षेत्रको संरक्षण र पूर्वाधार विकाससँगै यस स्थानको पहिचान थप उजागर हुन थालेको छ । यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी गराउने अवसरसमेत दिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न सके कोटगढी क्षेत्र भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटनसँग जोडेर विकास गर्ने स्थानीय सरकारको पहलले गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार