झापा : झापाको भद्रपुरमा आगामी माघ ७ देखि २१ गतेसम्म झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। झापा उद्योग वाणिज्य संघको आयोजना तथा भद्रपुर नगरपालिकाको सहकार्यमा हुने महोत्सवको तयारीको सिलसिलामा आइतबार संघको सभाहलमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले महोत्सवको औचित्यबारे जानकारी दिँदै सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान बनाउन, उद्योग–व्यवसाय र कृषि क्षेत्रमा गति दिन तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आवश्यक रहेको बताए।
अन्तरक्रियामा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, राजनीतिक दलका प्रतिनिधि, उद्योग–व्यवसायी, सामाजिक संघ–संस्थाका पदाधिकारी तथा महोत्सव आयोजन समितिका सदस्यहरू उपस्थित थिए। प्रमुख अतिथि नगर प्रमुख पोखरेलले महोत्सव उद्योगी–व्यवसायीको मनोबल बढाउने अवसर हुने विश्वास व्यक्त गर्दै नगरपालिकाले सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम अन्त्यमा अध्यक्ष राईले सहभागीहरूको सुझावलाई महोत्सवको तयारीमा समाहित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भद्रपुर नगरपालिका, महोत्सव स्थल उपलब्ध गराएको झापा जिल्ला खेलकुद समिति र भद्रपुर झापा गोल्डकपलाई धन्यवाद ज्ञापन गरे।
प्रतिक्रिया