खोटाङ : खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन ७ गते जन्मिएका बुढाथोकीले जिल्ला प्रशासन कार्यालय खोटाङबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन्।
आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था आएकाले ढिलै भए पनि नागरिकता लिएको बुढाथोकीले बताए । “म१४ वर्षको हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरेँ”, उनले भने, “हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा १२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।”
घर छाडेको ५६ वर्षपछि जिल्ला फर्किएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ । “मैले पढेलेखेको थिइनँ । नागरिकता बनाएर पनि के काम भन्ने लाग्थ्यो ! तर, मेरो नागरिकता नहुँदा छोरीहरुलाई समस्या पर्दोरहेछ !”, केशरबहादुरले भने । “आफूले केही नगरेपनि छोरीहरुलाई केही गराउनुपर्छ भन्ने लागेको छ । तर, मसँग नागरिकता थिएन । सबैको सहयोगमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ”
झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताए । “सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुसीयाली छाएको छ”, उनले भने “नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।”
आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहारले बताए । विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कञ्चनपुरमै बस्दै आउनुभएका केशरबहादुरको कान्छी छोरी कक्षा ३ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
चेतना अभावका कारण बुबाआमाले नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरी समस्या परेको पाइने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आउनासाथ सहज वातावरण निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन ।
प्रतिक्रिया