प्रहरीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समस्या

सोमबार, २१ पुस २०८२

मुस्ताङ । यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाई कार्यालय छन् । यसमध्ये दश प्रहरी इकाई कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी इकाई हालसम्म पनि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाको भवनमा आश्रय लिइरहेका छन् ।

यहाँ जिल्ला मुस्ताङ प्रहरी कार्यालय मातहतको प्रहरी इकाईहरुको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौती भोग्नुपर्ने बाध्यता रही आएको छ । भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद मुस्ताङका प्रहरी इकाईहरुले वर्षौंवर्ष पुरानो परम्परागत ढुङ्गा र माटोले बनेको कच्ची भवनमा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यहाँका १९ प्रहरी इकाईमध्ये चार इकाई कार्यालय विभिन्न व्यक्तिको घरमा भाडामा बस्दैआइरहेका छन् । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार यहाँको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित प्रहरी चौकी कागबेनी, थासाङ—२ कोवाङस्थित प्रहरी चौकी कोवाङ, घरपझोङ—४ जोमसोम पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ—३ एक्लेभट्टी जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिको घर भाडामा लिएर बसेका छन् । यहाँका भाडाका भवनमा बसेका यी प्रहरी इकाईको कार्यालयको खर्चको लागि जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी गर्ने गरिएको छ ।

यसैगरी मुस्ताङ प्रहरीका १९ प्रहरी इकाईमध्ये ६ प्रहरी इकाई विभिन्न सङ्घ संस्थाको स्वामित्वमा रहेको भवनमा बस्दैआइरहेका छन् । यहाँ माथिल्लो मुस्ताङको नेपाल—चीन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ–२ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दैआएको छ । सीमा नाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षांैवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो । यद्दपि त्यहाँ प्रहरी इकाईका लागि नेपाल सरकारबाट १३ रोपनी जग्गा प्राप्ति भइसकेको लामो समय वितिसक्दा पनि प्रहरी इकाईको आफ्नै भवन संरचना बन्न सकेको छैन ।

माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित छोन्हुप प्रहरी चौकी पनि सङ्घीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीयको शान्ति सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी इकाईका सुरक्षाकर्मीलाई जीर्ण भवनमा बसेर काम गर्नुपर्दाको समस्या र चुनौती बेग्लै छ ।

माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ स्थित सुर्खाङ प्रहरीचौकी त्यहाँको ढी प्रथमिक विद्यालयको भवनमा बस्दै आएको छ । सोही पालिकाको लोघेकर—२ स्थित घमी प्रहरी चौकीे एक्यापको भवनमा बस्दै आएको छ, भने लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ प्रहरीचौकी सकारी विद्यालयको भवनमा बस्दैआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङ आमा समूहको भवनमा बस्दैआएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी इकाईमध्ये चार वटा प्रहरी इकाईमध्ये इलाका प्रहरी कार्यालय छुसाङ मात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन इलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।

यहाँस्थित मुस्ताङ प्रहरीका १९ वटा इकाईमध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ र इलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भइरहेको छ । प्रहरी इकाईमध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सङ्घीयता अघि मुस्ताङका अधिकांश प्रहरी इकाईहरु सङ्घ संस्थाको भवन र भाडाको घरमा बस्दैआइरहेका थिए । सङ्घीयतापछि पछिल्लो पाँच वर्षको अवधिमा इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ, प्रहरीचौकी घाँसाको जग्गा प्राप्त गरी आफ्नै भवन संरचना बनेको हो ।

सङ्घीयता अघि जिल्ला प्रहरी कार्यालय मुस्ताङको भवन पनि परम्परागत शैलीमा बनेको पुरानो भवनबाट कार्यसम्पादन हुने गरेको थियो । यहाँ जिल्ला प्रहरी कार्यालयको भवन २०७४ पछि सङ्घीय र प्रादेशिक सरकारको सहयोगमा पक्की भवन बनेको हो ।

मुस्ताङ प्रहरी अन्तर्गत चार वटा प्रहरी इकाई पनि सम्बन्धित कार्यालयको भवनमा बस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यहाँ जिल्ला अदालत, जोमसोम विमानस्थल, कारागार शाखा र प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका प्रहरी इकाई सोही स्थानमा बस्ने गरेका छन् ।

जिल्लामा प्रहरीको ३१३ जनाको दरबन्दी रहेको छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २१४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले जानकारी दिए ।

भौगोलिक रुपले विकट मुस्ताङका दुरदराजका प्रहरी इकाईका सुरक्षाकर्मीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ । हिउँदयाममा यहाँका अधिकांश स्थानीयवासी जाडो छल्न बेँसी झर्ने प्रचलनले गर्दा त्यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीले मानवविहीन रित्ता घरको सुरक्षा गरी बस्नुपर्ने बाध्यता छ । प्रतिकूल मौसम र हिमपातको जोखिम हुने भए पनि विषम अवस्थामासमेत त्यहाँका प्रहरी सुरक्षाकर्मीले कष्ठकर रुपमा गाउँको सुरक्षामा खटिनुपर्ने अवस्था छ ।

जिल्ला प्रहरी कार्यालयलाई चारपाङग्रे सवारीसाधन उपलब्ध भए पनि यहाँका अधिकांश प्रहरी इकाई कार्यालयलाई दुई पाङ्ग्रे सवारी साधनमा सीमित रहँदा एक ठाउँबाट अर्को ठाउँमा आउँजाउँ गर्दा हावाहुरी,धुलो र चिसोले स्वास्थ्य समस्या निम्त्याउने गरेको पाइएको छ । यहाँको अतिनै विकट लोघेकर–५ स्थित सुर्खा प्रहरी चौकीमा एक थान मोटरसाइकल पनि नहुँदा त्यहाँका सुरक्षाकर्मी घण्टौँ पैदल हिँडेर नागरिकको सेवामा खटिनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यहाँ दुर्गम स्थानमा कार्यरत प्रहरी सुरक्षाकर्मीलाई उपलब्ध सीमित राशनबाट जीवन चलाउनसमेत मुस्किल पर्ने गरेको बताइएको छ । जाडोयाममा प्रहरीलाई जाडो थेग्ने पर्याप्त उपकरणको व्यवस्था नहुँदा कठ्याङ्ग्रिएर सेवा गर्नुपर्ने हुन्छ । मुखियाप्रथा लगायतका कारण प्रहरीलाई कानुन कार्यान्वयन गर्नमा चुनौती हुने गरेको बताइएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार