काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ । एमाले केन्द्रको निर्देशन अनुसार सम्वन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा भक्तपुर क्षेत्र नम्बर २ वाट क्षेत्रीय कमिटिले पार्टी सचिव बस्नेतको एकल नाम सिफारिस गरेको हो ।
एमाले केन्द्रले जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया चलिरहेको समयमा केही निर्वाचन क्षेत्रहरुबाट एकल नाम समेत सिफारिस भएका छन। सोही अनुसार भक्तपुरको क्षेत्र नम्बर २ बाट पार्टी सचिव बस्नेतको नाम एकल सिफारिस भएको छ ।
एमाले सचिव बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा भने कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारसंग पराजित भएका थिए ।
यसैगरी काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस भएको छ । बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
एमाले क्षेत्रीय कमिटीहरुले एकल नाम सिफारिस गरिएका उम्मेदवारहरुको नाम लगभग टुंगो लागि सकेको जस्तो भएपनि अन्तिम निर्यण भने केन्द्रले गर्ने जनाइएको छ । एमालेका तर्फबाट उम्मेदवारी सिफारिसका लागि क्षेत्रीय कमिटीले नाम सिफारिस गर्ने क्रममा कतिपय ठाउँहरुमा एकल नाम सिफारिस भएका छन् भने कतिपय ठाउँहरुमा एक भन्दा धेरै जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचनका लागि अन्य पार्टीहरुसंग तालमेल गरिएको खण्डमा भने कतिपय सिफारिस भएका निर्वाचन क्षेत्र तालमेल गर्ने दलको उम्मेदवारहरुलाई छोड्नु पर्ने अवस्था समेत आउन सक्ने छ ।
प्रतिक्रिया