इनरुवा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सुनसरीको क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट केन्द्रीय सदस्य जगदिशप्रसाद कुसियतको नाम एकल सिफासिर भएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार क्षेत्रीय कमिटीहरुले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने क्रममा सुनसरी क्षेत्र नम्बर ४ बाट कुसियतको नाम एकल सिफारिस भएको हो ।
सुनसरी क्षेत्र नम्बर ४ कमिटीले कुसियतको नाम एकल सिफारिस गरेको एमाले जिल्ला सचिव राम कोइरालाले जानकारी दिएका छन् । हालै सम्पन्न एकालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कुसियत गत २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेको थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीसंग झिनो मतले कुसियत पराजित भएका थिए ।
जेनजी आन्दोलनपछि बदलिएको राजनितिक अवस्थालाई मुल्याँकन गर्दैे नजिकी रहेको प्रतिनिधिसभा निर्वाचनका समयमा नेपाली काँग्रेस , एमाले र नेकपा विच तालमेलका विषयमा चर्चा चलिएको समयमा कुसियलले काँग्रेस उम्मेदवारलाई छोड्नु पर्ने अवस्था आउने आँकलन गरि सुनसरीको क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकाँक्षा राखेको समेत चर्चा चलेको थियो।
सो क्षेत्रबाट नेपाली काँग्रेसले पुनः ज्ञानेन्द्र बहादुर कार्कीलाई नै उम्मेदवार सिफारिस गरिसकेका कारण पनि तालमेल भएको खण्डमा सो निर्वाचन क्षेत्र काँग्रेसलाई छोड्नु पर्ने अवस्था आउन सक्ने आँकलन गरिदै आएको छ । क्षेत्रीय कमिटीले सिफारिस गरेपनि अन्तिम उम्मेदवारको नाम केन्द्रले टुंगो लगाउने छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय सिमा निर्वाचन आयोगले तय गरेका कारण एमाले लगायतका दलहरु उम्मेदवार छनोटमा सक्रिय रहेका छन् ।
प्रतिक्रिया