काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनका निर्णयहरु नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् । विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूलाई विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको जानकारी गराएका हुन् ।
सभापति थापाले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको पनि सञ्चारकर्मीहरुलाई जानकारी गारए । थापाले भने, ‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ । नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं ।’
थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो । उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरी हुने समेत स्पष्ट पारे ।
थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सीसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे ।
महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्नेपार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाई छ ।
पौडेलले भने,‘कांग्रेस पार्टी त विधानले निर्दिष्ट गरेअनुसार चल्ने होला नि त । सोही अनुसार नै पार्टी चलिरहेको छ । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोजौं भनेर सम्भव हुँदैन ।’
प्रतिक्रिया