सर्लाही : जाडोको समयमा विपन्न दलित बस्तीका मानिसहरुलाई लक्षित गरि लायन्स क्लव अफ जनकपुरधाम जानकीले सर्लाही जिल्लाको धनकौलको दलित बस्तीमा कम्बल वितरण गरेको छ ।
दलित बस्तीका विपन्न ,असहाय लगायतलाई समाजसेवी नेपाली काँग्रेसका नेता बैजनाथ प्रसाद सिंहको हातबाट ४८ परिवारलाई कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रमलाई सम्वोधन गर्दै सिंहले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै लायन्स क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर रूपमा जनसेवामा समर्पित रहँदै आएको भन्दै प्रशंषा गरे । उनले यस्ता मानवीय कार्यक्रमहरूले समाजमा आपसी सद्भाव, सहकार्य र मानवताको भावना अझ बलियो बनाउने विश्वास समेत व्यक्त गरे।
सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएका सिंहले यसअघि धनकौलमा बैजनाथ आमा तथा बाल अस्पतालको स्थापनाका लागि १२ कठ्ठा जमिन समेत उपलव्ध गराएका थिए ।
कार्यक्रममा मधेश प्रदेश नेपाली कांग्रेसका सूचना तथा सञ्चार प्रचार–प्रसार विभागका सचिव निकेश त्रिपाठी , स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
न्यानो कम्बल प्राप्त गरेका लाभग्राहीहरूले कठ्याङ्ग्रिने जाडोयाममा सहयोग प्राप्त भएको भन्दै लायन्स क्लब अफ जनकपुरधाम जानकीप्रति आभार व्यक्त गरे ।
लायन्स क्लब अफ जनकपुरधाम जानकीले आगामी दिनहरूमा पनि सामाजिक, मानवीय तथा सेवा–मुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया