उदयपुर : उदयपुर जिल्लाका आँखाका बिरामीलाई लक्षित गर्दै सञ्चालन गरिएको १० दिने बृहत् निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले चौदण्डीगढी र त्रियुगा नगरपालिकाको सहकार्यमा तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको आयोजनामा, भिजन हिमालय फाउन्डेसनको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
गत पुस १९ गतेदेखि चौदण्डीगढी नगरपालिका वडा नम्बर १ र ८ बाट सुरु भएको शिविरमा कुल ३ हजार ८ सय ९१ जनाको आँखाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५५९ जनामा आँखाको गम्भीर समस्या देखिएको र तत्काल शल्यक्रिया आवश्यक पर्ने पहिचान गरिएको थियो ।
पहिचान गरिएका बिरामीमध्ये प्रख्यात नेत्र विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतको नेतृत्वमा आएको टोलीले पुस २८, २९ र ३० गते चौदण्डीगढी नगरपालिका–६ सातधारेस्थित कोभिड अस्पतालमा शल्यक्रिया सम्पन्न गरेको हो । तीन दिनसम्म सञ्चालन गरिएको शल्यक्रियामार्फत ४३८ जनाको आँखाको सफल शल्यक्रिया गरिएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख हिमाल पौडेलले जानकारी दिए । उनका अनुसार शल्यक्रियाका लागि छनोट भएका ५५९ मध्ये १२१ जना विभिन्न कारणले उपस्थित हुन सकेनन् ।
चौदण्डीगढी नगरपालिकाले हरेक वर्ष तिलगंगा आँखा अस्पताल काठमाडौं र भिजन हिमालय फाउन्डेसनको सहकार्यमा यस्ता बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ । नगरप्रमुख कालुमान लामाका अनुसार विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यस शिविरबाट हालसम्म १० हजार ८ सय ३४ जनाले आँखाको जाँच सेवा लिइसकेका छन् । तीमध्ये १ हजार ६ सय ३५ जना शल्यक्रियाका लागि छनोट भएका थिए भने हालसम्म १ हजार २ सय ४० जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।
यस वर्ष डा. सन्दुक रुइत आफैं शिविरमा सहभागी भएपछि बिरामीको संख्या उल्लेख्य रूपमा बढेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लुङ्गाराज राईले बताए । नगरपालिकाले आर्थिक अवस्था कमजोर, विपन्न तथा पहुँचबाहिर रहेका नागरिकलाई कुनै पनि आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निःशुल्क आँखा उपचार तथा शल्यक्रियामार्फत दृष्टि पुनःस्थापना गर्ने लक्ष्यसहित शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया