भोजपुर : नेपालमै पहिलोपटक बीउ बैंक भोजपुरमा सञ्चालनमा आएको छ । भोजपुरको षडानन्द नगरपालिकाले सञ्चालनमा ल्याइएको बीउ बैंक मुलुककै पहिलो बीउ बैंक भएको जनाइएको हो ।
शून्यबाट सुरू गरेर नगरपालिका आफैंले बीउ बैंक स्थापना गरी सञ्चालनमा ल्याएको उद्घाटनका अवसरमा जानकारी गराइयो । दिंला बजारमा आयोजित चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा नगर प्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले संयुकत रुपमा बीउ बैंकको उद्घाटन गरे । कुनै पनि बालीको बीउ बाहिर खोज्न जान नपर्ने गरी बैंकको स्थापना गरेर रैथाने प्रजातिका बीउको व्यवस्था मिलाइएको नगरप्रमुख उदासले जानकारी गराए ।
नगरप्रमुख उदासका अनुसार एक वर्षअघि षडानन्द नगरपालिकाले आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा सुरू भएको थियो । उदासले पराम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय स्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब बीउ बैंक रहेको समेत बताए ।
नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशित गरेको थियो । रैथाने जातको बीउ संरक्षण आवश्यक रहेको सो अवसरमा नगरप्रमुख उदासले बताए । रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको उनको भनाइ रहेको थियो । कृषकलाई व्यावसायिकरणतर्फ आकर्षित हुन बीउ बैंकले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
षडानन्दमा बीउ बैंक स्थापनाको परिकल्पनाकार, कृषि विज्ञ एवं सामुदायिक बीउ बैंकका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ किसिमको बालिको ११५ जात रैथाने लोपन्मुख बीउहरू रहेको जानकारी दिए । सामुदायिक बीउ विज्ञसमेत रहेका श्रेष्ठले बीउ बैंकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने जानकारी दिए । षडानन्द नगरपालिकाले पहिलो पटक नेपालमै कार्यविधि तयार गरी बीउ बैंक स्थापना गरेको समेत उनले बताए
विश्वका ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लोप भइसकेको अवस्था रहेको सो कार्यक्रममा जानकारी गराइयो । नगर उपप्रमुख प्रमिला राईले लोप हुन लागेको बालीको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताइन । नगरले कृषि र कृषि व्यवसायीलाई प्रवद्र्धनको काम गरिरहेको समेत उनले जानकारी दिइन ।
कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका प्रमुख, वडाध्यक्षहरु, कृषि शाखा प्रमुख शिला पुन मगर, कृषक समूहका प्रतिनिधि लगायतले बीउ बैंकको संरक्षणमा जोड दिएका छन् ।
प्रतिक्रिया