काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका छ वटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मोरङका छ वटा निर्वाचन क्षेत्रमा कुल ११८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्रगत रूपमा हेर्दा निर्वाचन क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७ जना, क्षेत्र नम्बर ३ मा २१ जना, क्षेत्र नम्बर ४ मा २१ जना, क्षेत्र नम्बर ५ मा २२ जना र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा उर्लाबारीस्थित निर्वाचन कार्यालय पुगेर नेपाली कांग्रेसका खड्गबहादुर फागो, नेकपा (एमाले) का घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका कुलप्रसाद साम्बा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गराएका छन्।
त्यसैगरी, क्षेत्र नम्बर २ मा कांग्रेसका डा. मिनेन्द्र रिजाल, एमालेका दिलीप बगडिया, नेकपाका चन्द्रवीर राई र रास्वपाका कृष्णकुमार कार्की चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा २१ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। यस क्षेत्रमा १६ दलका र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन्। एमालेका इरान राई, नेकपाका देउमान सम्बाहाम्फे, कांग्रेसका सुनिलकुमार शर्मा र रास्वपाका गणेश कार्कीलगायत उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ मा पनि २१ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेकपाका अमनलाल मोदी, कांग्रेसका गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी २२ जनाको उम्मेदवारी परेको छ। यहाँ कांग्रेसका फुलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल र रास्वपाकी आशा झाले मनोनयन दर्ता गराएका छन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका उपेन्द्र राय र रास्वपाकी रुबिना आचार्यबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने माघ ९ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।
प्रतिक्रिया