राष्ट्रियसभाका १८ सिटमा आज निर्वाचन हुँदै, सातै प्रदेशमा मतदान

आइतबार, ११ माघ २०८२

हेटौँडा : आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ पदका लागि आज (माघ ११ गते) निर्वाचन हुँदैछ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म हुने निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको छ।

कुल १८ पदमध्ये कोसी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि आज मतदान हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

कोसी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ। कोसी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ), मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ।

त्यसैगरी, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले बताए।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन केही जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि यसअघि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनको मतभार घटेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार