दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

सोमबार, १२ माघ २०८२

रौतहट : विगत ३५ वर्षदेखि दलित समुदायको हक–अधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट दलित क्लष्टरबाट उम्मेदवारी दर्ता गराएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् ।

उनले कुल ७ हजार ९०४ मतभार प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका रामनन्द प्रसादले १ हजार ३७६ मतभार प्राप्त गरे भने जनता समाजवादी पार्टीकी चमेलीदेवी दासले २०९ मतभार पाएकी छन् ।

निर्वाचित पासवान नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएका छन् । बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करणविरुद्ध आवाज उठाउँदै आएका पासवान दलित अधिकारका एक अग्रणी अभियन्ताका रूपमा परिचित छन् ।

रौतहटको परोहा नगरपालिका–३ निवासी पासवानले राजनीतिशास्त्रमा स्नातक अध्ययन पूरा गरेका छन् । साधारण परिवारमा जन्मिएका उनले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभूति गरेको बताउँछन् ।

यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हक–अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर सङ्घर्ष गर्न प्रेरित गरेको उनको भनाइ छ ।

पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा योगदान पुर्‍याएबापत अन्तर्राष्ट्रियस्तरका पुरस्कारसमेत प्राप्त गरेका छन् । हाल उनी दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा छन् ।

दलित समुदायको हक–अधिकारका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आए पनि अपेक्षाअनुसारको उपलब्धि हासिल हुन नसकेको उनको गुनासो छ ।

दलित समुदायको आर्थिक तथा सामाजिक विकासका लागि निस्वार्थ भावनाका साथ अझै सक्रिय रूपमा लडिरहने उनको प्रतिबद्धता छ । राष्ट्रिय सभामा पुगेपछि पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने उनले बताएका छन् ।

“म दलित समुदायका मुद्दालाई राष्ट्रिय सभामार्फत मजबुत रूपमा उठाउनेछु,” पासवानले भने, “दलित मुक्तिको आन्दोलनमा जहाँ रहेर भए पनि मेरो निरन्तर सहभागिता र समर्थन रहनेछ ।”

नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार पासवानको जीवनशैली सरल, अनुशासित र जनमुखी छ । “आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आउनुभएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,” गुप्ताले भने, “उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी उहाँको पहिचान हो ।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार