प्रतिनिधिसभा निर्वाचन: उदयपुर १ मा बहुपक्षीय भिडन्त, पुरानै दल बलिया, नयाँ शक्तिको परीक्षा

मंगलबार, १३ माघ २०८२

उदयपुर  : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उदयपुर सङ्घीय निर्वाचन क्षेत्र नं. १ यस पटक राजनीतिक रूपमा अत्यन्तै रोचक र निर्णायक मोडमा पुगेको छ । विगत करिब दुई दशकदेखि नेपाली काँग्रेसको प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धनको अन्त्य, कम्युनिष्ट एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले चुनावी समीकरणलाई अघिल्ला निर्वाचनभन्दा पूर्णतः फरक बनाइदिएको छ ।

यस पटक अधिकांश दलले नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । त्यसैले परम्परागत मताधार, सङ्गठन क्षमता र परिवर्तनको चाहनाबिचको द्वन्द्वले यो निर्वाचनलाई बहु आयामिक बनाएको छ ।

विरासत जोगाउने प्रयासमा कांग्रेस

उदयपुर क्षेत्र नं. १ लाई लामो समयदेखि नेपाली काँग्रेसको बलियो आधार मानिँदै आएको छ । विगतमा पटक–पटक डा. नारायण खड्काले यस क्षेत्रबाट काँग्रेसको प्रतिनिधित्व गर्दै आउनु भएको थिए । तर यस पटक खड्काले उम्मेदवारी नदिने घोषणा गरेसँगै काँग्रेसले पूर्व जिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

बस्नेत २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भए पनि पार्टी सङ्गठनमा लामो समय योगदान दिएका नेता हुनुहुन्छ । काँग्रेसका लागि यो निर्वाचन केवल जित–हारको प्रश्न मात्र होइन, परम्परागत मताधार जोगाउँदै नयाँ नेतृत्व स्थापित गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।

एमालेको पुनरागमन रणनीति

पछिल्ला सङ्घीय निर्वाचनहरूमा यस क्षेत्रमा निरन्तर पराजय व्यहोर्दै आएको नेकपा एमालेले यस पटक अनुभवी स्थानीय नेता दुर्गाकुमार थापा ‘स्वस्ती’ लाई उम्मेदवार बनाएको छ । थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनु भएको थिए ।

नगर प्रमुखका रूपमा थापाले कृषि विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेको समर्थकहरूको दाबी छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः मेयरमा गठबन्धनका उम्मेदवार सगं पराजित भए पनि सङ्गठन क्षमता, लामो राजनीतिक सङ्घर्ष र जनसम्पर्कलाई आधार बनाउँदै एमालेले थापालाई सङ्घीय चुनावको मुख्य अस्त्रका रूपमा अघि सारेको हो ।

एकताका उम्मेदवार चौधरी

विभिन्न कम्युनिष्ट पार्टीहरूको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले बलदेव चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी २०७४ सालमा नेकपा एमालेबाट त्रियुगा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको नेता हुनुहुन्छ ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी हुँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर मेयरमा उम्मेदवारी दिनुभएका चौधरी पराजित भए पनि स्थानीय तहमा विकास निर्माणको अनुभव र परिचित अनुहार भएकाले कम्युनिष्ट एकताको प्रतिनिधि पात्रका रूपमा प्रतिस्पर्धामा हुनुहुन्छ । चौधरीलाई पनि स्थानीय वृत्तमा बलिया उम्मेदवारको रूपमा हेरिएको छ ।

नयाँ दलले अघि सारेका नयाँ अनुहार 

देशभर वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै गएको राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रबाट पारसमणि गेलाललाई उम्मेदवार बनाएको छ । उदयपुरको तत्कालीन हडिया गाविसको ज्यामिरेमा जन्मिएका गेलाल हाल इटहरीमा व्यवसाय गर्दै आउनु भएको छ ।

अहिलेसम्म सक्रिय राजनीतिमा नदेखिएका गेलालले “पुरानो राजनीतिक संस्कारको अन्त्य र नयाँ सोचको सुरुवात” भन्ने नारासहित मैदानमा उत्रिनु भएको छ । गेलालले पार्टी पंतिलाई प्रभावमा पाएर अन्तिम अवस्थामा टिकट ल्याउन सफल भएको स्थानीय नेता कार्यकर्ता बिच चर्चा छ । तर उहाँ युवा मतदाता तथा परिवर्तन चाहने वर्गको रोजाइ बन्न सक्ने आङ्कलन भने उदयपुरको राजनीतिकमा गरिएको छ ।

गेलालसँगै यस पटक उदयपुर क्षेत्र नं. १ मा एक स्वतन्त्र उम्मेदवारसहित जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश उम्मेदवार नयाँ अनुहार भएकाले यो निर्वाचन परम्परागत दुई–तीन दलको सीमित प्रतिस्पर्धाभन्दा फराकिलो बनेको छ ।

अघिल्लो निर्वाचन र बदलिँदो समीकरण

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसले ३१ हजार २७० मत प्राप्त गरेको थियो भने एमालेले २८ हजार ८९१ मत ल्याएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ९१५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ४४४ मत पाएका थिए ।

त्यति बेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत  समाजवादीबिच गठबन्धन रहेकाले काँग्रेसको जितमा गठबन्धनको प्रभाव स्पष्ट देखिएको थियो । यस पटक भने राजनीतिक समीकरण फेरिएकाले मत विभाजनको सम्भावना बलियो देखिन्छ ।

कति छन् मतदाता

उदयपुर क्षेत्र नं. १ मा हाल ७१ हजार ४५२ पुरुष, ७१ हजार ३५० महिला र २ जना अन्य गरी कुल १ लाख ४२ हजार ८०४ मतदाता रहेका छन् । ठूलो सङ्ख्यामा रहेका युवा तथा पहिलो पटक मतदान गर्ने मतदाताको भूमिकाले निर्वाचनलाई थप निर्णायक बनाउने विश्लेषण गरिएको छ ।

कांग्रेस–एमालेकै जनलहर बलियो

राजनीतिक विश्लेषकहरूका अनुसार उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा परम्परागत रूपमा कांग्रेस र एमालेकै जनलहर अझै बलियो देखिन्छ । काँग्रेसको पुरानो आधार र एमालेको सङ्गठित शक्ति बिच मुख्य प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ ।

स्थानीय मतदाताबिच “अनुभव चाहिन्छ” र “परिवर्तन चाहिन्छ” भन्ने दुई धार स्पष्ट देखिएको छ । यही द्वन्द्वले फागुन २१ गतेको मतदानलाई केवल सांसद चयन होइन, उदयपुर क्षेत्र नं. १ को भावी राजनीतिक दिशा तय गर्ने निर्णायक मोड बनाउनेछ ।

 

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार