उर्लाबारी । लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।
उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडा पौडेलका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम शिशुको तत्काल संरक्षणको व्यवस्था गरिएको हो । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक हेरचाहको प्रबन्ध मिलाइएको नगरपालिकाले जनाएको छ ।
शिशुको दीर्घकालीन व्यवस्थापनका लागि नमुना बालगृहमा अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।
साथै, शिशुलाई छोड्ने व्यक्तिको खोजी गरी कानुनी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया