इटहरी, : सुनसरी क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार राजीव कोइरालाले आफु पदमा हुँदा होस् वा नहुँदा सधैंभरी जनताको पक्षमा काम गर्दै आएको बताएका छन।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदर रहेका काँग्रेस पुर्व केन्द्रीय सदस्य समेत रहेका कोइरालाले चुनाबी प्रचारप्रसारका क्रममा केहीले भ्रम सिर्जना गर्न खोजेको भन्दै आफू सधैंभरी जनताकै पक्षमा काम गर्दै आएको र भविष्यमा थप जिम्मेवार साथ काम गर्ने प्रतिवद्धटा जनाएका हुन् ।
‘नयाँ भनेर केही भ्रम फैलाइएको छ । यो गलत छ,’ कोइरालाले शनिबार इटहरी वडा नम्बर ४ मा मतदातासमक्ष मत माग्ने क्रममा भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, तपाईंकै सुखदुःखमा साथ दिने व्यक्ति मै हुँ ।’ आफु सुनसरीमै जन्मिएर सुनसरीमै राजनीति गर्दै आएको समेत कोइरालाले जानकारी गराए ।
नेपाली काँग्रेस सुनसरीको दुई कार्यकाल सचिव र दुई कार्यकाल सभापति र निवर्तमान केन्द्रीय सदस्य समेत रहेका कोइराला २०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएकार कोशी प्रदेशमा नेपाली काँग्रेसको संसदीय दलको नेता समेत भएका थिए ।
कोइराला स्वच्छ छवीका नेताको पहिचान बनाएका कोइराला युवाहरु माझ लोकप्रिय नेताका रुपमा परिचित रहेका छन ।
कोइरालाले आफु जनप्रतिनिधि भएको समयमा गरेका काम विषयमा समेत चर्चा गर्दै्र आफु अहिले प्रतिनिधि सभाका लागि जनतमाँझ मत माग्ने क्रममा आएको र निर्वाचित भए विगत झै निष्ठापूर्वक काम गर्ने समेत कोइरालाले स्पष्ट पारे ।
उम्मेदवार कोइराला शनिबार इटहरी वडा नम्बरका विभिन्न बस्तीमा पुगेर घरदैलो कार्यक्रममा समेत सहभागी भएका थिए ।
सुनसरी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कोइरालालाई यस क्षेत्रको हेभीवेट उम्मेदवारका रुपमा चर्चा समेत गरिदै आएको छ । त्यसै त कोइरालासंगै सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापा, नेपाल कम्यूनिष्ट पार्टीकी रामकुमारी चौधरी, एमालेका सुजन लामा, श्रम संस्कृति पार्टीका चेतन राईलगायतका २८ जना उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन् ।
प्रतिक्रिया