बेलबारी : मोरङ – क्षेत्र नम्बर ३ केन्द्रमा राखेर हेरिएको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा नेपाली कांग्रेसबाट ०७९ मा सुनिल शर्माले जित निकालेका थिए । त्यसबेला विभिन्न धेरै दलसँगको गठबन्धन गरेका कारण कांग्रेसका शर्माले ठूलो मत हात पारेका थिए ।
त्यसबेला डा.शर्माले ४८ हजार ६ सय ३१ मत ल्याएका थिए । जबकि नेकपा एमालेका नेता भानुभक्त ढकालको २५ हजार ८ सय ९५ मत आएको थियो । तेस्रोमा राप्रपाबाट अभिनेत्री रेखा थापाले १० हजार ९ सय ९८ मत ल्याएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विकास उप्रेती भने चौंथो हुँदा ३ हजार १ सय ७२ मत ल्याएका थिए भने विकेन्द्र राई मंगोल नेशनल अर्गनाइजेसन १ हजार ५ सय २० मत ल्याउनेमा पर्छन् ।
आगामी निर्वाचनमा भने शर्मा र रास्वपामा सक्रिय रहेका स्थानीय युवा गणेश कार्कीबीच तिव्र प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।
यो विश्लेषण गत निर्वाचनमा पाएको मत, समानुपातिक मत र स्विङ हुन सक्नेदेखि रास्वपाको अहिलेको चर्चाका कारण प्राप्त हुन सक्ने सम्भावनामा आधारित गरिएको छ ।
अब कार्कीले कसरी यस निर्वाचनमा शर्मालाई टक्कर दिँदै उछिन्न सक्छन् भन्ने विभिन्न कारण र आधारलाई केलाइन्छ । पहिलो त शर्माले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको आडमा मत ल्याउने सहज अनुमान लगाइन्छ । तर, जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा शर्माका लागि चुनौती थपिएको हो ।
छिमेकमै रहेको झापा–५ मा रास्वपाका प्रस्तावित प्रधानमन्त्री बालेनको प्रभाव पनि एउटा कारण हो । बालेन कार्कीका निम्ति उक्त निर्वाचन क्षेत्रमा युवासहितका नयाँ मतदाता र पुराना मत समेत प्रभाव पार्नेगरी उपस्थित हुनेछन् । यसबाहेक, समानुपातिक मतको बलियो जग पनि अर्को आधार रहेको छ ।
२०७९ को निर्वाचनमा रास्वपाका प्रत्यक्ष उम्मेदवारले मात्र ३,१७२ मत प्राप्त गरे पनि समानुपातिक तर्फ यस क्षेत्रबाट १२,६७७ मत प्राप्त भएको थियो । यसले के देखाउँछ भने, मतदाताहरू ‘घण्टी’ चिन्हप्रति सकारात्मक छन् ।
मोरङ–३ (बेलबारी, पथरी शनिश्चरे, कानेपोखरी, सुन्दरहरैचा) क्षेत्रमा युवा र वैदेशिक रोजगारीमा गएका परिवारहरूको बाहुल्यता छ ।
परम्परागत दलहरू (कांग्रेस, एमाले) प्रतिको असन्तुष्टि र नयाँ विकल्पको खोजीमा रहेका युवा मतदाताहरू रास्वपाको मुख्य शक्ति हुन् । सामाजिक सञ्जालको बढ्दो प्रभाव र परिवर्तनको नाराले गर्दा तटस्थ मतदाताहरू रास्वपातिर ढल्किने सम्भावना देखिन्छ ।
यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेभित्र आन्तरिक गुटबन्दी र उम्मेदवार चयनमा हुने विवादले सधैं प्रभाव पारेको छ । एमालेका पूर्वमन्त्री भानुभक्त ढकाल आफ्नो गृहजिल्ला तेह्रथुम फर्किनु र कांग्रेसका सुनिल शर्मा विरुद्धका केही विवादित मुद्दाहरूले गर्दा ती दलका असन्तुष्ट कार्यकर्ताहरूको मत रास्वपामा ‘सिफ्ट’ हुन सक्छ ।
२०७९ मा रेखा थापाले १०,९९८ मत प्राप्त गरेकी थिइन् । यदि राप्रपाको यो मत र रास्वपाको समानुपातिक मतलाई जोड्ने हो भने यो संख्या झण्डै २४ हजार पुग्छ, जुन नेकपा एमालेको हाराहारी हो ।
आगामी निर्वाचनमा राप्रपाको प्रभाव घट्नु वा रास्वपाले अझै सशक्त मुद्दा उठाउनुले यो ‘तेस्रो धार’ को मत एकीकृत हुन सक्छ ।
शर्माले ४८,६३१ मत ल्याए पनि कांग्रेसको कोर मत भनेको समानुपातिकमा आएकोलाई मान्नुपर्छ । यसरी हेर्दा, समानुपातिकतर्फ निर्वाचन क्षेत्रमा दोस्रो भएको कांग्रेसले गत निर्वाचनमा २७,०२९ मत मात्र ल्याएको थियो ।
तत्कालिन माओवादीको ७,७५६ मत समानुपातिकमा आएको थियो । माओवादीको योसहित अन्य दलको समेत मत यस पटक शर्मालाई जाने छैन ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको समेत प्रभावमा मत विभाजन हुने सम्भावना बलियो रहेको छ । तत्कालिन निर्वाचनमा ५ औं भएको मंगोल नेशनल अर्गनाइजेशनले १५२० मत ल्याएको थियो ।
यसको दायरा अझ फराकिलो बनेको दाबी गरिएको छ । उक्त पार्टी श्रम संस्कृतिमा मिसिएका कारण यसको प्रभावले शर्मा र एमालेका यस पटकका उम्मेदवार इरान राईको मत नै स्विङ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
यसबाहेका नेपाली कम्युनिस्ट पार्टी (तारा चुनाव चिन्ह)का देउमान सम्बाहाम्फेले पाउने मत पनि शर्मालाई नजाने निश्चित छ ।
प्रतिक्रिया