फागुन २१ नजिकिँदै : उदयपुरमा निर्वाचन सुरक्षा अनुगमन, उच्च सतर्कता

बुधबार, २८ माघ २०८२

 उदयपुर : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उदयपुर जिल्लामा सुरक्षा अनुगमन तीव्र पारिएको छ।

जिल्ला स्तरीय सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा जिल्लाभर सुरक्षा अनुगमन तथा निरीक्षण कार्य सञ्चालन भइरहेको छ।

अनुगमनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा विशेष ध्यान दिइएको प्रशासनले जनाएको छ। आचारसंहिता उल्लङ्घन गरेको पाइएमा सम्बन्धित पक्षलाई तत्काल सचेत गराउँदै पुनः उल्लङ्घन नगर्न निर्देशन दिइँदै आएको छ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार हालसम्म जिल्लाका ४७ वटा मतदान स्थल तथा १४६ वटा मतदान केन्द्रको निरीक्षण सम्पन्न भइसकेको छ। अनुगमन तथा निरीक्षण कार्यलाई अझ प्रभावकारी र तीव्र बनाइने उनले जानकारी दिए।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याममणि ढकाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक तुलसी कट्टेल तथा नेपाली सेनाको पशुपति प्रसाद गण गाईघाटका सेनानी प्रमोद अधिकारीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। यस्तै, नेपाली सेनाले उदयपुरका आठवटै स्थानीय तहमा निर्वाचन लक्षित पेट्रोलिङ गस्तीलाई तीव्र बनाएको छ।

उदयपुर जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नं. १ मा ३५ वडा, ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ मा ४० वडा, ५१ मतदान स्थल र ११५ मतदान केन्द्र निर्धारण गरिएको छ।

प्रशासनले निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्त बनाइएको उल्लेख गर्दै आम मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार