‘बालमैत्रीनगर घोषणा गर्ने अभियानमा छौं’

बुधबार, ०६ असार २०८०
झापाको मध्यभागमा रहेको सुन्दर नगरपालिका कनकाईका प्रमुख प्रशासकीय अधिकृत हुन् मोहनप्रसाद न्यौपाने । जिल्ला प्रशासन कार्यालय इलामबाट सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर उनी कनकाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका हुन् । कनकाई नगरपालिकामा विगत ३२ महिनादेखि सेवारत उनी कुशल प्रशासक मानिन्छन् । शारीरिक अस्वस्थताका बाबजुद बिदाका दिनसमेत नागरिकको सेवामा तल्लीन हुने न्यौपानेसँग गरिएको कुराकानी– कनकाई आउनु अघि कहाँ जिम्मेवारीमा हुनुहुन्थ्यो ? म कनकाई आउनुअघि जिल्ला प्रशासन कार्यालय इलाममा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिरहेको थिएँ । कनकाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भएको ३२ महिना भयो । शुरुमा आउँदा स्थानीय तहबारे धेरै बुझेको थिइनँ । जनप्रतिनिधिसँग मिलेर काम गर्न गाह्रो होला कि भन्ने भइरहेको थियो । तर, कर्मचारी र जनप्रतिनिधि भनेको एकअर्काको पाटो रहेछौं । एकअर्काबीच समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गर्दा काम गर्न समस्या रहेन छ भन्ने मेरो ३२ महिने कार्यानुभवले बुझेको छु । कर्मचारी र जनप्रतिनिधि एउटै ‘बास्केट’ मा रहेर छलफल गर्दा जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने मलाई लागेको छ । मेरो लागि यो ठूलो उपलब्धिको रुपमा रह्यो । जनप्रतिनिधि आउनु अघि र आएपछि स्थानीय तहहरुमा कसरी काम अघि बढिरहेका छन् ? संघीयतापछिको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । स्थानीयतहले संघ र प्रदेशजस्तै हरेक वर्ष आफ्नै बजेट, नीति तथा कार्यक्रम ल्याएर आफ्नो उद्देश्यअनुरुप काम गर्ने गरेका छन् । सोहीअनुसार कनकाई नगरपालिकाले पनि छैठौं आर्थिक वर्षको योजना तथा कार्यक्रम बनाउने अन्तिम चरणमा छौं । अब लगभग एक महिना बाँकी छ । चालू आर्थिक वर्ष २०७९–८० को अन्त्यतिर आइसकियो ? के कति काम भएका छन् ? चालू आवमा छनोट भएका केही कार्यक्रममा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आएको आर्थिक संकुचन र केही आर्थिक समस्याका कारण पूरा हुन सकेको छैन । संघ र प्रदेशबाट प्राप्त हुने अनुदान नआएपछि बाह्रौं नगर सभाले केही कार्यक्रम र बजेट संशोधन गरेर पूरक बजेटका रुपमा कार्यक्रमहरु ल्याएको छ । योजनाको दायित्व अर्को वर्षमा सार्नु भन्दा भएको बजेटलाई सदुयोग गरेर सकेसम्म योजनजाहरु पूरा गर्नुपर्छ । सोहीअनुसार नगर र वडाबाट छनोट भएका योजनाको ९० प्रतिशत सम्झौता भएर कार्यान्वयनको अन्तिम चरणमा छ । असार १५ गतेभित्र योजनाहरु कार्य सम्पन्न गरेर फरफारक गर्नुपर्ने छ । असार १५ भित्र सबै वडा र नगरका संशोधित योजनाहरु पनि शतप्रतिशत सम्पन्न हुने विश्वास छ । संघ तथा प्रदेशबाट प्राप्त सशर्त अनुदानका योजनाहरु पनि शतप्रतिशत सम्पन्न भएको छ । अपर्याप्त बजेटका कारण केही योजनाबाट पछि हट्नु परेको । छुटेका आगामी बजेटमा सम्बोध नहुने विश्वास छ । अनुगमनका क्रममा नगर र वडाबाट भएका कामहरु कतिको मापदण्ड र गुणस्तरीय भएको पाउनुभएको छ ? काम गर्ने, गराउने भन्दा पनि त्यो काम गुणस्तरीय हुनुपर्छ । लगत स्टिमेट अनुसार र दीगो टिकाउ हुने काम भए, नभएको हेर्ने ठूलो पाटो नै अनुगमन हो भन्ने लाग्छ मलाई । ठेक्का प्रक्रिया शुरु भएदेखि काम सम्पन्न नभएसम्म पटक–पटक अनगुगमन गर्ने गरेका छौं । टोल तथा उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम गरेर गुणस्तरका विषयमा सचेत गराउने काम भएको छ । टोल, वडा र उपभोक्ता समितिलाई तपाईंहरुको आफ्नै घर आँगनको काम भएकाले दीगो, टिकाउ, गुणस्तर र वातावरणमैत्री हुने खालको गर्नु भनेका छौं । काम गर्ने कुरामा कहीँ कतै कामजोरी हुनुहुँदैन । सरकारले पनि एउटै ठाउँमा पटक–पटक लगानी गर्न सक्दैन । विकास निरन्तर हुने प्रक्रिया भए पनि एक ठाउँमा एकपटक गर्यो भने अर्को ठाउँमा अर्को पटक गर्नुपर्ने हुन्छ । दिएको विकासलाई लामो समय टिकाउन सक्नेगरी गर्नुपर्छ । भन्दाभन्दै पनि केही ठाउँमा समस्या देखिएका छन् । योजना अनुगमनलाई पूर्ण परिपालन गरेको छौं । कनकाईमा बेरुजुको अवस्था के छ ? बेरुजु भनेको कुनै पनि खाइमासी आएको र कुनै अनियमिता भएको रकम होइन । बेरुजु भनेको महालेखा परीक्षकको कार्यालयबाट डोर मुकाम यहाँ पालिकामा आएर हाम्रा सम्पूर्ण कागजातहरुको समपरीक्षण गर्दा चालू तथा पुँजीगत खर्चका केही कागजहरु नपुगेको रकमलाई बेरुजु देखाउँछ । बेरुजु दुईखाले हुन्छ । एउटा बेरुजु असुलउपर गर्नुपर्ने, जुन असुलउपर गरेर जम्मा गरेपछि फस्र्यौट हुन्छ । अर्को अपुग कागजात मिलाएर समपरीक्षण गर्दा हट्छ । हामीले सकेसम्म बेरुजु शून्यमा झार्नुपर्छ । विधिसम्मत गरेका कामहरु गुणस्तरीय र मापदण्डअनुसार भएपनि केही कागजात अपुग हुँदा बेरुजु देखिन्छ । महालेखाले दिएको निर्देशनअनुसार कागजपत्र पु¥याएपछि क्रमशः बेरुजु घट्दै जान्छ । अन्यत्रको तुलनामा बेरुजु कम भए पनि यसलाई शून्यमा झार्नुपर्छ । हामी त्यसतर्फ सचेत छौं । नगरलाई बालमैत्री बनाउने काम कसरी अघि बढिरहेको छ ? कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानमा हामी लागिपरेका छौं । नगर प्रमुखज्यूले यसलाई विशेष प्राथमिकताका रुपमा लिनुभएको छ । चालू आर्थिक वर्षमा तीनवटा वडालाई बालमैत्री बनाउने र आगामी आर्थिक वर्षमा सबै वडालाई बालमैत्री बनाउँदै नगरलाई नै बालमैत्री घोषणा गर्ने अभियानमा लागेका छौं । बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने ५३ वटा सूचक पूरा गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार