इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचन साउन २० गते हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा ७ सय २८ परिषद् सदस्य सहभागी हुनेछन् । क्याम्पस सञ्चालक समितिको सदस्य १३ जना हुन्छन् ।
समितिको १३ पदका लागि ३१ जना प्रतिस्पर्धामा छन् । क्याम्पस सञ्चालक समितिको सदस्य निर्वाचित भएपछि अध्यक्ष छनौट गर्ने प्रक्रिया हुनेछ । समितिको अध्यक्ष पदका लागि चर्चामा रहेका इटहरी ४ का विकास केसीसँग हामीले कुराकानी गरेका छौं ।
चुनावको तयारी कस्तो छ?
सर्वप्रथम त मलाई इटहरीका सबै राजनीतिक दलले विश्वास गरी मेरो नेतृत्वमा क्याम्पस सञ्चालक समिति निर्माण गर्ने तयारी पूरा भएको छ । मलाई विश्वास गरेकोमा हार्दिक धन्यवाद दिंदै आभार प्रकट गर्दछु । साथै, चुनावमा सक्रिय सहभागिताका निम्ति समेत निमन्त्रणा गर्दछु । म नेतृत्वको समूहलाई विजयी गराउने तयारीस्वरुप चुनावी मैदानमा छु ।
तपाईँ जनता क्याम्पसको पूर्व विद्यार्थी नेता पनि हुनुहुन्छ, तीन कार्यकालसम्म सञ्चालक समिति सदस्य रहँदाको अनुभव कस्तो रह्यो ?
म जनता बहुमुखी क्याम्पसमा २०५६ सालको विद्यार्थी हुँ । मैले राजनीतिक सदस्यता स्कूल तहमा लिएपनि म पूर्ण रूपमा राजनीतिमा लागेको यही क्याम्पस अध्ययन गर्न सुरु गरेदेखि हो । म जनता क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट क्याम्पसमा हुने स्ववियु निर्वाचनमा २०५७ सालमा स्ववियु सदस्य, ०५९ सालमा स्ववियु सह–सचिव र ०६३ सालमा स्ववियु उपसभापति हुँदै नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति बन्दै नेविसंघको केन्द्रीय उपसभापति समेत भइसकेको छु । र, यो अवसर मलाई जनता क्याम्पसले नै प्रदान गरेको हो । किनकि, मेरो सक्रिय राजनीति जनता क्याम्पसबाटै सुरु भएको हो ।
र, यो क्याम्पसलाई मैले केही दिन सक्नुपर्छ भनेर क्याम्पसको सञ्चालक समितिका तीन कार्यकालसम्म सदस्य रहेको छु । विभिन्न समितिमा बस्दै आएको र पदपूर्ति समितिजस्तो जिम्मेवारीमा रही काम गरेको अनुभव छ । साथै, सञ्चालक समितिमा रहँदा यस क्याम्पसले धेरै अवसरहरू प्रदान गरेको जानकारी गराउँदछु । नेपालकै सामुदायिक क्याम्पसमा पहिलो नम्बरको क्याम्पस भएको, कोसी प्रदेशमै सबैभन्दा धेरै विद्यार्थी भएको क्याम्पस बनाउन सफल भएको छौँ । हाल यो क्याम्पसमा कक्षा ११ देखि स्नातक र स्नातकोत्तरसम्म विभिन्न विषयमा अध्यापन हुँदै आएको छ ।
तपाईँ संयोजक रहेको पदपूर्ति समिति विवादित बनेको थियो, तपाईँ नै क्याम्पसको अध्यक्ष बन्ने चर्चा पनि छ । फेरि यस्तै किसिमको विवाद दोहोरिने हो कि ?
वास्तवमा क्याम्पसको नेतृत्व गर्ने क्रममा, काम गर्ने सिलसिलामा इमानदारीपूर्वक, स्वच्छ र कसैलाई विभेद नगरी मैले पाएको जिम्मेवारी निर्वाह गरिरहँदा केही साथीहरूले आफू अनुकूलको कुरा लाद्न खोज्दा मैले उक्त काम नगरी, क्याम्पसको हितको काम गर्दैगर्दा केही साथीहरूले अनावश्यक विवाद ल्याउन खोजिएको थियो । कुनै पनि काम गर्न खोज्दा विरोध, बाधा आएपनि निरन्तर काम गर्नुपर्छ भन्ने बुझेको छु । यसक्रममा साथीहरूले विवादमा ल्याउन खोजेपनि सबैले अहिले बुझिसकेको अवस्था छ कि, मैले गर्न खोजेको काम नै ठिक रहेछ भन्ने बुझेर सबै दलहरूले नेतृत्व गर्न सक्छ भन्ने विश्वास गरेर मेरै नेतृत्वमा चुनाव हुन लागेको छ ।
यसैबीच म अध्यक्ष बन्ने भन्ने चर्चा हुनु स्वाभाविक हो । किनकि, यसअघि तीन कार्यकालसम्म क्याम्पसकै हितको निम्ति मात्रै, निस्वार्थले काम गरेका कारण म अध्यक्ष बन्ने चर्चा छ । साथै, फेरि विवाद हुने कुरा उठिरहँदा यसपटक सञ्चालक समितिमा आउने साथीहरू सबैजना युवा, अनुभवी र दक्ष र क्याम्पसको हितका निम्ति काम गरौँ भन्ने साथीहरू हुनुहुन्छ । उहाँहरू मेरो नेतृत्वको टिममा आएसँगै सबैजनाको विचार, अनुभव र भावनालाई आत्मसाथ गर्दै यो कार्यकाललाई सुवर्ण कार्यकालको रुपमा र कुनै विवादरहित कार्यकाल बनाउने विश्वास व्यक्त गर्दछु ।
क्याम्पसमा राजनीतिक चलखेल हुने तर विद्यार्थीका समस्या समाधानमा कुनै काम नहुने गरेको गुनासो सुनिन्छ नि ?
विगतका दिनमा क्याम्पसमा राजनीतिक हस्तक्षेप भएको कुरा स्वीकार गर्नैपर्छ । आगामी दिनमा यी सबै कुराहरूलाई निस्तेज गरी सबैको सल्लाह र सुझावअनुसार नमुना क्याम्पस बनाउने प्रतिबद्धतासाथ काम हुनेछ । साथै, विद्यार्थीबारे भन्नुपर्दा यो क्याम्पसमा ०७४ सालयता स्ववियुको चुनाव नभएको कारणले गर्दा विद्यार्थीहरूको यथार्थ समस्या सञ्चालक समितिसमक्ष आइपुग्दैनथ्यो । तर, स्ववियुले गते चैत ६ गते नयाँ नेतृत्व पाएसँगै विद्यार्थीको यथार्थ समस्या स्ववियुमार्फत नै समाधान भइरहेको छ । सञ्चालक समितिमा आएका समस्या पनि समाधान भइरहेको जानकारी गराउँदछु ।
क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा तपाईंलाई नै किन रोज्ने ?
म विद्यार्थी कालदेखि नै जनता क्याम्पसलाई बुझ्दै र नजिकबाट नियाल्दै आएको छु । साथै, क्याम्पसमा मैले तीन कार्यकाल काम गरिसकेका कारण पनि म अध्यक्ष हुनुपर्छ भन्ने मेरो बुझाई छ । र, मैले क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारीहरूसँग राम्रो सम्बन्ध राखेर सबैको समस्या, विचारलाई बुझ्दै काम गर्दै आएको छु । साथै, क्याम्पसलाई राम्रोसँग बुझेको हुनाले आगामी दिनमा अझै सशक्त रूपमा क्याम्पसलाई अगाडि बढाउन सक्ने कार्ययोजना मसँग भएको कारणले गर्दा मेरो उम्मेदवारी हो ।
समितिको अध्यक्ष बनेपछि तपाईँका कार्ययोजना केके छन् ?
हाल जनता बहुमुखी क्याम्पसमा कक्षा १२ सम्म साइन्स, कमर्श, एजुकेशन र आर्ट्स अध्यापन हुँदै आएको छ । यस्तै, स्नातकमा म्यानेजमेन्ट, एजुकेशन, आर्टस् र बीआइसीटीई अध्यापन हुँदै आएको छ । यस्तै, स्नातकोत्तरमा एजुकेशन र म्यानेजमेन्ट अध्यापन हुँदै आएको छ । यही मंसिरसम्ममा बीबीएको सम्बन्धन प्राप्त गर्दै कक्षा सञ्चालन हुने प्रतिबद्धता जनाउँदछु ।
साथै, विद्यार्थीहरूको आकर्षण बन्ने र जीवनउपयोगी शिक्षा अध्यापनका निम्ति मेरो नेतृत्वको समितिले पहल गर्नेछ । जनता क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीले चाहेको विषयको कारण फर्कनुपर्ने अवस्था नआउने र उनीहरुले चाहेको विषय पढ्न पाउने अवस्था सृजना गर्नेछु । र, हाल जनता क्याम्पसले प्राप्त गरेको क्यूएए लाई निरन्रता दिनको निम्ति यो समितिले गुणस्तरीय काम गर्ने विश्वास दिलाउँछु । साथै, यो कार्यकालभरी क्यूएएबाट पाउने सुविधा बञ्चित नहुने कुरा प्रतिबद्धता जनाउँदछु ।
यो क्याम्पसमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको संगमस्थल र सर्वसाधारण जनताका छोराछोरीले उच्च शिक्षा हासिल गर्ने थलो भएकाले पहाडी जिल्लाबाट आउने विद्यार्थीहरूले कोठाभाडा बसेर अध्ययन गर्ने क्रममा छात्राहरू असुरक्षितसमेत हुने र बढ्दो महंगीका कारण समस्या हुँदै आएको कुरा विद्यमान छ ।
यसलाई मध्यनजर गर्दै यस क्याम्पसमा छात्राबासको भवन निर्माण गरिनेछ । यो भवनमा कम्तिमा तीन सयभन्दा बढी छात्राहरू बस्न सक्ने व्यवस्था गर्न यो समितिले पहल गर्नेछ । र, यस क्याम्पसका विद्यार्थीहरूको शारीरिक अवस्थालाईसमेत मध्यनजर गर्दै स्वतन्त्र विद्यार्थी युनियनसँग समन्वय गरी वार्षिक रूपमा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विभिन्न लोकप्रिय खेलकुदमा सहभागी गराइनेछ । साथै, वार्षिक साधारणसभा राखेर क्याम्पसमा भएको गतिविधि सबै परिषद् सदस्यलगायत इटहरीका सरोकारवाला संघसंस्था तथा नगरबासीहरूलाई जानकारी गराउनेछौँ ।
प्रतिक्रिया