कस्ता ट्विट मन पर्छ?
समसामयिक विषयमा गरेका ट्विट, साहित्य अनि समय सान्दर्भिक छ भने जोकसैको पनि मन पर्छ। शिक्षा, महिला तथा बालबालिकासम्बन्धी ट्विटहरु धेरै पढ्छु अनि कसैका रमाइला ट्विटहरु पढेर पनि आनन्द लिन्छु।
के विषयमा चाहिँ खासै ट्विट/स्टाटस लेखिएका छैनन् जस्तो लाग्छ?
नेपालमा अभिभावक शिक्षाको अत्यन्त खाँचो छ। जब अभिभावक आफैं शिक्षित हुनुहुन्न भने छोराछोरीको हेरचाहमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नकारात्मक प्रभाव परिरहेको हुन्छ, यस्ता गहन विषयमा मैले आजसम्म कसैको ट्विट पढ्न पाएकी छैन, नलेखेरै हो वा मैले नदेखेको हो, थाहा भएन।
कस्ता व्यक्तिलाई फलो गर्नुहुन्छ?
म फलोअर्सको धनी मान्छे हैन। बायोको आधारमा साथै आफन्त, साथीभाइ, परिचय खुलेका अनि महिलाहरुलाई सम्मान गर्ने मेरो फलोइङमा हुनुहुन्छ।
छद्म नाममा ट्विटर किन चलाइन्छ जस्तो लाग्छ?
कसैलाई हानी नपुर्याइ खोलिन्छ भने ती नितान्त व्यक्तिगत कुरा हुन्। तर यहाँ साँघुरो समाजमा आफूलाई स्वतन्त्र रुपमा छोड्नको लागि पनि मान्छेहरुले यस्ता अकाउन्टहरु खोलेर कुण्ठा पोख्ने पाइयो।
जनमत निर्माणमा सामाजिक सञ्जालको कस्तो भूमिका हुन्छ?
कोरोना महामारीले हामीलाई धेरै सिकायो। शिक्षा, स्वास्थलगायत हरेक कुराहरु सिक्ने माध्यम त भर्चुअल भयो भनेपछि असम्भव के होला र! व्यस्त समयमा सञ्जाल अझ बढी प्रभावकारी हुन्छ। कतिपय समय यस्तो आउँछ कि प्रत्यक्ष रुपमा व्यक्त गर्न नसकेका कुरा सञ्जालको माध्यमबाट प्रस्तुत गर्न अझ बढी सहज पाएकी छु मैले।
सञ्जालमा उठाइएका कुराको प्रभाव कत्तिको हुन्छ?
सामाजिक सञ्जालले समस्या मात्र ल्याउँदैन समाधान पनि गरेको छ। विशेषगरी ट्विटरमा अझ यस्ता घटनाहरु छिटो र आवाज निस्कने पाएकी छु। अहिले त विद्यालय स्तरदेखि नै प्रविधि सहितको शिक्षालाई प्राथमिकता पनि दिएका छौँ।
फेक ह्याण्डलबारे के भन्नुहुन्छ?
सकेसम्म त आफ्नो सही परिचय लिएर आउनु नै उपयुक्त हुन्छ। आफ्नो इच्छाको अकाउन्ट खोलेर कसैलाई हानी नपुर्याउने उद्देश्यले आउँदा फरक परेन तर विपरीत लिङ्गीको नाम राखेर चलाउनु गलत हो। सञ्जाल कसैको पेवा होइन, कसैबाट पनि व्यक्तिगत आँच पुर्याउने काम नगरौँ।
महिलामाथि अनेक व्यङ्ग्य र टिप्पणी गर्ने चलन पनि छ। कस्तो लाग्छ?
व्यक्तिगत रुपमा मैलेचाहिँ भोग्नुपरेको छैन तर यहाँ त शरीरका अङ्ग अनि लगाएका वस्त्रलाई केलाउँदै, महिला दिदीबहिनीहरुको अनावश्यक मूल्यांकन, टीका–टिप्पणी गरेको पनि पाएँ। पहिला सोच्थेँ, यस्ता कुराहरुलाई बेवास्ता गरेकै उपयुक्त हुन्छ तर हैन रहेछ, एक्सन लिनुपर्ने रहेछ, गरेका गल्तीहरुको शब्द शब्दमा लडेर प्रायश्चित अनि सचेत गराउँनुपर्दो रहेछ। यो मलाई ट्विटरले नै सिकाएको कुरा हो।
फलोअरहरुलाई के भन्न चाहनुहुन्छ?
म यहाँहरुको फलोइङको लिस्टमा परेकोमा आभारी छु, सँधै हाँसेर रमाइलो जिन्दगी जिउने कोसिस गरौँ, अर्काको चियोचर्चो, डाहा र इश्र्या गर्नेहरुभन्दा हामी १० वर्ष बढी बाँच्छौँ।
प्रतिक्रिया