विराटनगर । कोशी प्रदेश सरकारले यसअघि ल्याएको बजेट अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ । प्रदेशसभाको सोमबार आह्वान गरिएको चौथो अधिवेशनको चौथो बैठकले अध्यादेश स्वीकृत गरेको हो ।
‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०÷०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत भएको छ । यसअघि उक्त अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा दर्ता गराएको सूचना सांसद नारायणबहादुर बुर्जामगरले फिर्ता लिएका थिए ।
सूचना फिर्ता भएसँगै प्रदेशसभाबाट अध्यादेश स्वीकृत भएको हो । त्यस्तै प्रदेशसभाको सोमबारको बैठकमार्फत ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेशसभाको अर्को बैठक मंगलबारका लागि आह्वान गरिएको छ ।
प्रतिक्रिया