समयले न कसैलाई पर्खिन्छ, नत कसैको अधीनमा रहन्छ । ३० वर्ष उमेरको जोकोहीलाई याद हुनुपर्छ त्यस बेलाको कक्षागत गीत । किताबको अन्तिम पानामा लेखिएका राष्ट्रिय गीतका पंङ्तीको भाव हुन्थ्यो, चन्द्र–सूर्य रहेसम्म राजा रानी रहन्छन् । तर त्यस्तो त होइन रहेछ । निर्विकल्प केही छैन, तर त्यसका लागि उचित समय भने अवश्य चाहिन्छ । समयले त्यही निर्णय सुनायो । आम नेपालीको आकलन विपरीत झन्डै अढाई सय बर्से शाही शासन पतन भयो । केही सयौँ चलेको आन्दोलनकै भरमा सिंहासन ढल्यो । भनौँ, एक हिसाबले रसातलमै पुग्यो । जनताले नेता र व्यवस्थाको विकल्प खोजे । राजतन्त्र फालेर गणतन्त्र अङ्गाले । यसले के देखाउँछ भने, नागरिकको अपेक्षा जब निराशामा बदलिन्छ तब त्यो शासनाको बागडोर सम्हालेकाहरूका लागि प्रत्युत्पादक बनिदिन्छ । अहिले त्यही निराशाको परिणाम मुलुकमा देखिन थालेको छ ।
तत्कालीन माओवादीले विद्रोहका बेला भाषण र आश्वासन गज्जबका बाँडे । जनमुक्ति सेना, साम्यवादको सपना, धनीको सम्पत्ति राष्ट्रियकरण, जाली र फटाहालाई कसुर अनुसारको कठोरभन्दा कठोर सजाय, व्यवहारिक र प्राविधिक शिक्षा, गरिब र धनी बिचको असमानताका खाडल पुर्ने यी नागरिकको मन छुने नारा थिए । अझ उनीहरूले भन्ने गरेको अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तार बाधको प्रतिवाद जस्ता कुराले स्वाभिमानी नेपालीलाई प्रभावित पार्थ्यो । तर आज शासन सत्ताको बागडोर सम्हालेको माओवादीबाट त्यो सम्भव देखिएन । त्यति मात्र होइन, बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त कलिलो गणतन्त्रात्मक स्यानब्यानै खतरामा परेको आभास हुन थालेको छ । किन यति छिट्टै गणतन्त्रको विकल्पमा नारा लाग्न थाले ? यसको कारण, जवाफ स्पष्ट र छर्लङ्गै छ । जनताले रगत बगाएर ल्याएको गणतन्त्रमा एउटा होइन, हजारौँ राजा र युवराज भेटिन थाले । जो शाह कालिन राजा र तिनका उत्तराधिकारी भन्दा निकृष्ट, अराजक, भ्रष्ट र कुसंस्कारी निस्किए । तिनले व्यवस्थाको नाम गणतन्त्र राखेपछि त्यसको खोल ओढेर जे पनि गर्न पाइन्छ भन्ने भाष्यको निर्माण गर्न खोजे । नागरिक सत्ताको दुरुपयोग गर्दै आफ्ना दर सन्तान, आफन्त, नातागोता, भाञ्जा र वर्ग उत्थानमा लाग पछिको त्यसको विकल्पमा माहौल बन्दै जानु स्वाभाविक हो ।
जुन कुरा अहिले परिदृश्यमा देखिँदै छ । मङ्सिर सातगते दुर्गा प्रसाईँको नेतृत्वमा काठमाण्डौमा निस्किएको गणतन्त्र विरोधी आवाज त्यसैको प्रतिनिधि उदाहरण हो । राज्य सञ्चालक बहालवाला मन्त्री र सचिवहरुनै आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर कुनै सामानको भाउमा बेच्न उद्धत छन् । मुख्य दलको नेतृत्व हजारौँ किलो सुन तस्करीमा मुछिएको छ । करोना जस्तो महाव्याधिमा खोप खरिदमै भ्रष्टाचार हुन्छ । भूकम्प पीडितका लागि दाताले विदेशबाट पठाएको पाल, कम्बल र खाद्यान्नले नेताको घर भरिन थालेपछि आजित बनेका नागरिकले नेता र व्यवस्थाको विकल्पमा सोच्न आइतबार कुर्नु पर्दैन । पानी जहाज र रेलका सपना देखाएर आफ्ना कार्यकर्तालाई बित्थैमा राज्य कोष बढ्न थालेपछि नागरिक आक्रोश बढ्छ, त्यो स्वाभाविक हो । खर्बै लगानीले मात्रै पुरा हुने योजनामा कनिका छरेझैँ बजेट विनियोजन गर्ने काम नालायकपन बाहेक अरू के हुनसक्छ ? विडम्बना ! फरक नीति र सिद्धान्त भएका पञ्चायत, बहुदल, राजतन्त्र र गणतन्त्रमा समेत एउटै अनुहार शासकको रूपमा देखा पर्छ । विकास, समृद्धि र वैभवको सपना देखाएर त्यसको कार्यान्वयन नगरी निराश बनाइदा अधैर्य बनेका नागरिकको दिमागमा गणतन्त्रको विकल्प उब्जिन थालेको बुझिन्छ । यूवाशक्तिको पलायन रोक्ने, स्वदेशमै रोजगारी सृजना गर्ने, लगानीको वातावरण बनाउने, कलकारखाना र उद्योगधन्दा चलाउनमा कसैको चासो छैन । सरकारले युरोप, अमेरिका, अफ्रिकाजस्ता मुलुकसँग नयाँ श्रम सम्झौता गरेका समाचार बढ्दा विरक्त लाग्छ । दुर्गा प्रसाईँ र महेश बस्नेतको जुवारीमा भ्रम पाल्नु र कसैको उछितो काढ्नु उचित होइन । राजा फर्काउने नारा लगाएका प्रसाईँ राजा हुन पाउने भए, आफै हुन्छन् । पारस खोजी रहँदैनन् । खड्ग ओलीलाई तथानाम गरेपछि आक्रोशित महेश बस्नेतको आँखाको तारो बने प्रसाईँ । त्यैबाट सुरु भएको रिसिली पछिल्लो समय काठमाण्डौंमा प्रकट भएको हो । राजा ल्याउने र गणतन्त्र बचाउने नाममा जुन अराजकता देखिँदै छ त्यसका कारण बरु गणतन्त्रलाई खतरा छ । राजा बोकेर हिँडेको पार्टी राप्रपा त प्रस्ट भइसक्यो कि, बैकको कर्जा र ब्याज नतिर्ने प्रसाईँको निम्जा टेक्निक हो यो आन्दोलन । देशमा व्यवस्था परिवर्तन भन्दा पनि नेतृत्वकर्ताको बेबहारमा परिवर्तन आजको आवश्यकता हो । तर, व्यवस्थाले आफ्नो मर्म अनुरूप प्रतिफल दिन सकेन भने अनन्तकालसम्म त्यसलाई अङ्गाल्नुपर्ने बाध्यता रहँदैन । नेतृत्व सच्चिन र सुध्रिन तयार हुनुपर्छ । होइन भने, रोजाइको विकल्प आम नागरिकमा निहित छ ।
प्रतिक्रिया