पूर्वको पिएलओ (पूर्वाञ्चल ल्युब आयल) ग्रुपले १५ महिनाअघि मोरङको सुन्दरहरैँचामा सञ्चालनमा ल्याएको नेपाली रिका होटलले थप ९० कोठा विस्तार गर्ने भएको छ ।
लुब्रिकेन्ट्सको उद्योग र व्यवसायमा सफल मानिएको पिएलओ ग्रुपले १५ महिनाअघि मोरङको सुन्दरहरैँचा र झापाको दमक नगरपालिकामा एकै चोटि नेपाली रिका थ्री स्टार होटल सञ्चालनमा ल्याएको थियो ।
ग्रुपले तीमध्ये सुन्दरहरैँचाको होटलमा क्षमता विस्तारको काम अघि बढाएको हो । यसअघि ९० करोडको लगानीमा सञ्चालनमा ल्याइएको होटलमा अरु ६० करोडको लगानी थप भइरहेको होटलका सञ्चालक भोलेश्वर दुलालले बताए ।
सञ्चालक दुलालका अनुसार यसअघि २० कट्ठा क्षेत्रफलमा ५१ कोठाको होटल तयार गरेर सञ्चालनमा ल्याइएको थियो । दोस्रो चरणमा छेउकै ७ कट्ठा जमिन खरिद गरेर ९० कोठा थप्न लागिएको हो ।
विराटचौक र दमक दुबै ठाउँका होटललाई नेपाल सरकारको पर्यटन विभागले थ्री स्टारको मान्यता दिइसकेको छ । अब विराटचौकको होटलमा क्यासिनो पनि थपेर यसलाई पाँच तारे बनाउने योजना रहेको सञ्चालक दुलालले बताए ।
उनले यस होटलमा सञ्चालन गरिने क्यासिनो नेपालकै ठुलो हुने बताएका छन् ।
उनले ९० कोठाको विस्तारको काम ३ महिनाअघि सुरु गरिएको र बढीमा आगामी ७ महिनाभित्र निर्माण–सम्पन्न गरेर सञ्चालनमा ल्याइसक्ने योजना रहेको उल्लेख गरेका छन् ।
विस्तार–कार्य सकिएपछि होटलमा २ प्रेसिडेन्टल रुम हुनेछन् । अहिले प्रेसिडेन्टल रुमको एक रातको मूल्य कर सहित २८ हजार रहेको संचालक दुलालले जानकारी दिएका छन् ।
त्यस्तै सुइट रुम ६ वटा हुनेछन् । हाल यसको एक रातको मूल्य करसहित १२ हजार छ । विस्तारपछि भिल्ला रुम २० वटा पुग्ने दुलालले बताए । अहिले भिल्ला रुमको एक रातको मूल्य करसहित ७ हजार ५ सय छ ।
त्यस्तै अन्य रुम डिलक्स प्रकारका हुनेछन् । यिनको मूल्य करसहित रातको ६ हजार छ ।
होटलमा स्थापना–कालदेखि नै स्विमिङ पुल, बेबी पुल, स्टिम साउना, फिटनेस सेन्टर, स्पा, जुम्बा डान्स, सलुन र जिम सञ्चालनमा छन् ।
प्रतिक्रिया