साहित्यकार देवीप्रसाद मिश्रको कविता सङ्ग्रह ‘बधू मञ्जरी’विमोचन

बुधबार, २० मंसिर २०८०
काठमाडौँ । कवि एवम् साहित्यकार देवीप्रसाद मिश्रको कविता सङ्ग्रह ‘बधू मञ्जरी’ मङ्गलवार विमोचन भएको छ । भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कविता सङ्ग्रह ‘बधू मञ्जरी’ विमोचन गरेको हो ।
राजधानी काठमाडौँको सोह्रखुट्टे नयाँबजार स्थित कलधारा चोकमा रहेको फ्रिक मण्डला रेस्ट्रो एन्ड बेंकेटमा आयोजना गरिएको  बधू मञ्जरी खण्डकाव्य लोकार्पण समारोहमा १२ जना कवि एवम् साहित्यकारहरूले एकसाथ कविता सङ्ग्रह बधू मञ्जरीको विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा सहभागीहरूले बधू मञ्जरी खण्ड काव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रुपान्तरण कला र साहित्यको महत्त्वपूर्ण भूमिका रहने भन्दै कविता सङ्ग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुईसय वर्ष अघि वधू शिक्षा लेखेर त्यस समयको सामाजिक परिबेसमा बुहारीले राख्नुपर्ने सजगता र गर्नुपर्ने कर्तव्य सिकाएका अहिले समय, समाज परिवर्तन भइसकेको  बताए ।
बधु मञ्जरी खण्डकाव्यले आदिकविको समय भन्दा दुईमय वर्ष पछाडिको आजको समाजको चित्रण गरेको बताउँदै उनले भने, अहिले युग फेरिएको छ । हाम्रा पारिवारिक सोचाई भिन्न हुँदै गएका छन् । कविवरले वधू मञ्जरीलाई नयाँ आलोकमा उतार्नु भएको छ ।
कार्यक्रममा छन्द कविताका अभियन्ता एवम् समीक्षक प्राध्यापक डाक्टर देवी नेपालले कृतिमा उल्लेख भएका दुईमय चौरासी श्लोकमा सबैभन्दा बढी शार्दूल विक्रिडीत छन्दको प्रयोग भएको बताउँदै उक्त कविताहरूमा बुहारीलाई उपदेश मात्र नभएर कविको बुढ्यौली समेत प्रवेश भएको बताए ।
प्राध्यापक डाक्टर नेपालले भने,  खण्डकाव्य उपदेश मात्र नभएर जीवन बोध गराउने सन्दर्भले समेत भरिएको छ । जीवनलाई हेर्ने सन्दर्भमा अन्त्यतै सुन्दर पक्षहरू समेटिएका छन् ।
ऋषि तुल्य मानिसले जीवनको उपदेशमा शिक्षालाई बढी महत्व दिने सन्दर्भ उल्लेख गर्दै नेपालले जीवन बोध गरेको मानिसलेचैँ जीवन र समाजको यथार्थ बोध गराउने उनको भनाई छ ।
कार्यक्रममा एजिङ नेपालका अध्यक्ष एवम् व्यङ्ग कवि कृष्ण मुरारी गौतम चट्याङ्ग मास्टर चन्द्र युग महाकाव्यका रचनाकार कवि एवं साहित्यकार, कवि चन्द्रप्रसाद न्यौपाने, साहित्यकार एवं कवि भक्तबहादुर नेपाली, हास्य कलाकार मनोज गजुरेल, कवि एवम् आख्यानकार माधव बिडारी लगायतले कवि देवीप्रसाद मिश्रलाई कृति प्रकाशन गरेकोमा बधाई दिएका थिए ।
ओरेन्टल पब्लिकेसनका सञ्चालक हरि गौतमको सभापतित्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसे, छन्द अभियन्ता एवं समीक्षक प्राध्यापक डाक्टर देवी नेपाल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल, प्रा.डा.मदन बहादुर सिंह, लेखक एवम् साहित्य शीतल गिरी, कवि लुमणिप्रसाद खनाल, उपन्यासकार माया शर्मा लगायतको उपस्थिति रहेको थियो ।
भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेले स्वागत मन्तव्य तथा जीवनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार