दुरवस्थामा काठमाडौँका हिटी

आइतबार, ०१ पुस २०८०
काठमाडौँ / उपत्यकाका ढुङ्गेधारा अर्थात् हिटीको अवस्था दयनीय बन्दै गएको छ। एक अध्ययन अनुसार प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकाभित्र खानेपानीको स्रोतका रूपमा रहेका १५४ वटा ढुङ्गेधारा (हिटी) उचित संरक्षणको अभावमा दुरवस्थामा पुगेका हुन् । तीमध्ये ६१ वटा (४० प्रतिशत) ढुङ्गेधारामा मात्र हाल पानी आउने गरेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यही मङ्सिरमा अलान फाउन्डेसनबाट यो अध्ययन गराएको थियो । प्रतिवेदन अनुसार ५० वटा (३२ प्रतिशत) मा पानी नआउने, १० वटा (छ प्रतिशत) लोपोन्मुख, २१ वटा (१४ प्रतिशत) हराएका र १२ वटा (आठ प्रतिशत) फेला नपरेको अवस्था छ । अध्ययनका क्रममा ढुङ्गेधारालाई यिनै पाँच प्रकारमा बाँडेर तथ्याङ्क सङ्कलन गरिएको थियो । वडागत रूपमा हेर्दा वडा नम्बर १५ र ३२ वडामा १२/१२ वटा हिटी छन् भने वडा नम्बर ११, २२, २३, २४, २५ र २७ गरी छ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन। अध्ययन प्रतिवेदन अनुसार वडा नम्बर १२ र १३ मा एक/एक वटा, वडा नम्बर ३, २१ र २९ मा दुई/दुई वटा, वडा नम्बर २ र ३० मा तीन/तीन वटा हिटी भेटिएका छन्। त्यसै गरी वडा नम्बर ५, २८ र ३१ मा चार/चार वटा, वडा नम्बर २० मा पाँच वटा, वडा नम्बर १, ८, १९, २६ मा छ/छ वटा हिटी छन् । वडा नम्बर १८ मा सात वटा, वडा नम्बर ४ र ७ मा आठ/आठ वटा, वडा नम्बर ९ र १६ मा नौ /नौ वटा, वडा नम्बर १७ मा १० वटा, वडा नम्बर ६ मा ११ वटा र वडा नम्बर १० मा १३ वटा हिटी छन् । पानी आउने गरेका हिटीमा धारामा पानीको निकास राम्रो रहेको पाइएको छ । मर्मत गरिएको छ । हिटीमा मानिस आएर पानीको प्रयोग गर्ने गरेको पाइएको छ । यी हिटीको र यसको परिसर संरचना कायम राखिएको पाइएको छ । प्रतिवेदनमा उल्लेख छ, “हिटी जलप्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन्। यससँग प्रकृति र प्राणी सभ्यता अन्तरसम्बन्धित छन् । यसको व्यवस्थापनका लागि जलचर, बिरुवा तथा प्राकृतिक रूपमा उम्रिने रैथाने झारपातसँग सम्बन्ध हुन्छ ।” काठमाडौँमा राजकुलो, पोखरी र पानीका नालीको सञ्जाल बनाएर जीवन पद्धतिसँग पानीको उपलब्धता जोडिएको छ। सहरी जीवनको संस्कार, संस्कृति र परम्परासँग जल सम्पदाको अभिन्न नाता छ । यसको महत्वलाई वास्तुकलाले सम्पन्न ढुङ्गेधाराको संरचनामा देख्न सकिने प्रतिवेदनमा औँल्याइएको छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार