सशस्त्र प्रहरीले गर्‍यो १८ सय सीमास्तम्भ मर्मत

आइतबार, ०७ माघ २०८०
इटहरी । सशस्त्र प्रहरी बलले नेपाल–भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले मर्मत सुरु गरेको थियो । साढे दुई महिना अवधिमा एक हजार आठ सयभन्दा धेरै मर्मत भइसकेको र अरू पनि मर्मतका क्रममा रहेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । नापी विभागका अनुसार दुई देशको सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् । नेपाल–भारतबीच भएको सहमतिअनुसार सशस्त्र प्रहरीले बिजोर नम्बरका सीमास्तम्भको मर्मत गर्दै आएको छ । जोर नम्बरकोसीमास्तम्भको भारतले मर्मत गर्दै आएको छ । नेपालले करिब दुई हजार दुई सय स्तम्भको मर्मत गर्दै छ । सीमा सुरक्षाका ‘डेडिकेटेड फोर्स’ रहेको सशस्त्र प्रहरीलाई ०७७ साउनमा सरकारले सीमास्तम्भको मर्मतसम्भार तथा पुनस्र्थापनाको जिम्मेवारी दिएको थियो । तर, यससम्बन्धी कार्यविधि नहुँदा काम सुरु हुन सकेको थिएन । यही वर्ष कार्यविधि स्वीकृत भएसँगै मर्मत सुरु भएको हो ।
सन् २०१४ मा दुई देशबीच २०२२ सम्म सुस्ता र कालापानीबाहेक क्षेत्रको सीमा समस्या समाधानको काम सकिने समझदारी भएको थियो । तर, कोरानालगायत कारणले लक्ष्यअनुसार काम हुन सकेन । साथै, सीमाका समस्या समाधानका लागि दुई देशबीच नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको सीमा कार्य समूहको बैठक पनि पाँच वर्षदेखि बस्न सकेको छैन । बैठक नबस्दा खोलाले बगाएका सीमास्तम्भ तथा विवादित ठाउँमा समस्या कायमै छन् । सीमा विवाद टुंग्याएर नक्सांकन गर्ने जिम्मेवारी सो संयन्त्रलाई दिइएको थियो । भारतकै अनिच्छाका कारण कार्य समूहको बैठक बस्न नसकेको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।
सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले सरकारले सीमामा सशस्त्रको परिचालन भने बढाएको छ । सीमामा सशस्त्र प्रहरीका बोर्डर आउटर पोस्ट बिओपी दुई सय ५३ पुगेका छन् । गत सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनमा पनि सशस्त्र प्रहरीको बेस सरकारको निर्णयअनुसार खटिएको छ ।
भारतबाट प्रवेश गर्नेलाई नेपालप्रति सकारात्मक छाप पार्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सौन्दर्यीकरण र सरसफाइ अभियान सुरु गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी खड्का अनुसार बाँकेको जमुनाहा नाकाबाट सौन्दर्यीकरणको काम सुरु गरिएको छ । अन्य नाकामा पनि यसलाई निरन्तरतता दिइने उनले बताए । सौन्दर्यीकरणका साथ सीमामा सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्नेलाई पिउने पानीलगायतको सुविधा दिन थालेको छ । त्यस्तै, २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीले क्विक इम्प्याक्ट प्रोजेक्ट (क्विआइपी) थालेको छ । सशस्त्र प्रहरी र नागरिकबीचको सम्बन्ध थप मजबुत गराउने उद्देश्यले यो कार्यक्रम देशैभरि सञ्चालन गरिएको प्रवक्ता खड्काले बताए । यसअन्तर्गत नागरिकलाई सुविधा हुने गरी सशस्त्र प्रहरीले विभिन्न सहयोग तथा निर्माणको काम गरेको छ । जसअन्तर्गत काठमाडौंमा पशुपतिनाथ मन्दिरमा ह्विलचेयर सहयोग गरेको छ भने गोलढुंगास्थित किरियापुत्री धाममा स्नानगृह निर्माण गरेको छ । ९ माघमा सशस्त्र प्रहरीले २३औँ स्थापना दिवस मनाउँदै छ । दशगजा खाली गराउने अभियान –५५६ घरटहरा भत्काइयो  सशस्त्र प्रहरीले  नेपाल–भारत सीमाको दशगजा क्षेत्र खाली गराउने अभियान चलाइएको छ । जसअन्र्तगत हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाएको छ । भारतीय सशस्त्र सीमा बलसँगको समन्वयमा दश गजा क्षेत्र खाली गराउन थालिएको एसएसपी राजेन्द्र खड्काले बताए । जसअन्र्तगत १६.७ किलोमिटर दशगजा खाली गराइएको र दशगजामा पर्ने १३.३२ बिघा जग्गामा खेती गर्न रोक लगाइएको छ । दशगजा क्षेत्रमा दुवै क्षेत्रबाट घर बनाउने तथा खेती गर्ने प्रवृत्ति रहेको गृह मन्त्रालयको रिपोर्ट छ । कतिपयको घर नेपालतर्फ त आँगन भारततर्फ छ । जसले गर्दा सीमामा समस्या भएपछि दशगजा क्षेत्रलाई सशस्त्र प्रहरीले खाली गराउने अभियान थालेको हो । यो समाचार आजको नयापत्रिका दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार