अहिले प्रकाशित भैरहेका साप्ताहिक पत्रिकाहरुमा गिरिराज आचार्य सम्पादक, प्रकाशक रहेको ‘पूर्व टाइम्स’, मनिता चाम्लिङ सम्पादक रहेको ‘दिव्य रोशनी’, मणिराज भट्टराई सम्पादक, प्रकाशक रहेको ‘धरान साप्ताहिक’, गंगा बराल सम्पादक रहेको ‘विजयपुर’, शेखरनाथ योगी सम्पादक प्रकाशक रहेको ‘हाम्रो कोशी आवाज’, तारा लाम्गादे सम्पादक प्रकाशक रहेको ‘महाप्रतिवाद’, गमबहादुर लम्जेल सम्पादक प्रकाशक रहेको ‘प्रवोध’ पाइन्छन् ।बन्द प्रायः रहेका साप्ताकिकहरूमा गोपाल देवान सम्पादक प्रकाशक रहेको ‘विश्वस्त सुत्र’, राजन सुवेदी सम्पादक रहेको ‘एक्सन टाइम्स’ देखिन्छ । छापा माध्यम बन्द प्रायः भएपनि अधिकांश दैनिक, साप्ताहिक पत्रिकाले अनलाइन संस्करण भने सञ्चालन गर्दै आएको पनि पाइन्छ । फेसबुक खोलेका छन् । कतिपय अनलाइन नियमित अपडेट पाइन्छन् भने अधिकांश संस्थागत भइएको पाइन्न । छापा माध्यमको सम्भावना घट्दै गएपछि धरानबाट अनलाइन न्यूज पोर्टल शुरु गर्ने क्रम बढेको छ । पत्रिकाहरूले अनलाइन शुरु गरेका छन् । एफएमहरूले पनि अनलाइन शुरु गरेको पाइन्छ । व्यवसायिक र संस्थागतको पक्षमा भने अनलाइनहरू सबल भएको पाइन्न । बदलिएको सञ्चार माध्यममा जानैपर्ने बाध्यता भएकाले नयाँ खुल्ने अनलाइनको क्रम जारी छ । हाल धरानबाट सञ्चालित अनलाइनमा मात्रिकाप्रसाद नेपालको ‘कपुरी न्यूज’ डट कम, रोहित राईको ‘क्लिक धरान’ अग्रपंक्तिमा छ । यसैगरी भरतराज शर्मा गोपालले सञ्चालन गर्दै आएको आयो न्यूज डटकम, भोला श्रेष्ठको छाल खबर डटकम प्रमुख छन् । पत्रिकाका अनलाइन पोर्टलहरूमा ब्लाष्ट खबर अनलाइन, औजार अनलाइन, कोशी पत्र अनलाइन, दिब्य रोशनी अनलाइन, प्रबोध साप्ताहिक अनलाइन, कोशी आवाज अनलाइन छन् । धरानमा स्टुडियो र व्यवस्थित उपकरण भएको निजी स्थानीय टेलिभीजन ‘कृति टिभी’ एउटा मात्र छ । सामाजिक सञ्जालमा अनलाइन टिभी सबै युट्युब च्यानलका माध्यमबाट युट्युबरबाट सञ्चालित छन् । धरानमा सञ्चालनमा रहेका एफएमहरूमा विजयपुर एफएम, रेडियो धरान, गणतन्त्र एफएम, दन्तकाली एफएम, हार्ट एफएम छन् । प्रायः एफएमहरूले पनि सामाजिक सञ्जालमा जोडिन थालेका छन् । कतिपयले युट्युबमार्फत पनि समाचार प्रशारण गरेको पाइन्छ । पछिल्लो समय नागरिक सञ्चार माध्यमको रूपमा सामाजिक सञ्जालको प्रयोगले मूलधारको मिडियालाई किनारमा पु¥यायो भन्न थलिएको छ । अनलाइनमा रूपान्तरण भइरहेका छापा माध्यमहरू पनि सामाजिक सञ्जालमा जोडिन थालेका छन् । एफएम रेडियो, टेलिभजनहरू पनि दर्शक, श्रोता माझ पुग्न सामाजिक सञ्जाल प्रयोग गर्न बाध्य हुँदै गएको छ । सञ्चार प्रविधिले ल्याएको युगान्तकारी परिवर्तनबाट पत्रकारिता मात्र नभएर सबै कुरा प्रभावित भएका छन् । सञ्चारका नयाँ माध्यमको स्वछन्द प्रयोगले दिने गरेको सबै सामाग्री पत्रकारिताको सिद्धान्तभित्र नपर्ने कुरा अहिले बहसको विषय बनेको छ । यसले पत्रकारिता र सञ्चारमाध्यमलाई बुझ्न नयाँ दृष्टिकोण बनाउन जरुरी देखिन्छ । लोकतान्त्रिक शासनमा स्वतन्त्र प्रेस राज्यको चौथो अंग मानिन्छ । विचार र अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारको रक्षा, जनतालाई सुसूचित गर्ने माध्यम प्रेस स्वतन्त्रता बिना सम्भव छैन । पत्रकारिताबाट प्रयोग हुने प्रेस स्वतन्त्रता स्वछन्द भने हुँदैन । राष्ट्र र समाजको सर्वोत्तम हितका लागि अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा पत्रकारितालाई व्यवसायिक, मर्यादित, उत्तरदायी र जवाफदेही बनाई राख्न पत्रकार आचारसंहितामा पत्रकारिता बाँधिएको हुन्छ । नेपालमा पत्रकार आचारसंहिता २०७३ क्रियाशील छ । सामाजिक सञ्जाल तथा युट्युब माध्यमको प्रयोगमा देखिने, पढिने सबै सामाग्री आचारसंहितामा बाँधिएका हुँदैनन् । त्यसैले कतिपय सामाग्रीमा विद्युतीय कारोबार ऐनअनुसार कारबाही भएको सबैले सुन्दै आएकै विषय हो । पछिल्लो समय त्यस्ता माध्यमबाट गरिने पत्रकारितालाई आचारसंहिता तथा कानुनी दायरामा ल्याउन नेपालमा प्रेस काउन्सिलले अनलाइन न्यूज पोर्टल सूचीकरणको नियम लागु गरेको छ । सूचिकृत सञ्चार माध्यमका लागि नेपालमा प्रेस तथा प्रकाशन ऐन छ । सञ्चार माध्यम र पत्रकारितामा आएको नयाँ परिवर्तनसँगै पत्रकारको आचारसंहिताको पालन अहिले प्रबल रूपमा बहसको विषय भएको छ । मूलधारको पत्रकारिता र न्यू मिडियाबीचको फरक आचारसंहिताको पालनाले छुट्याउने तर्क अगाडि आइरहेको छ । यो बहसले पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघलाई पनि प्रभावित गरेको छ । पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान त्यसैको परिणाम हो । पत्रकारीतामा पूर्ण रूपमा निर्भर पेशागत श्रमजीवीहरूमात्र पत्रकार महासंघको सदस्यता दिइने १५ सुत्रीय मापदण्डले अब जो कोही महासंघको सदस्य हुन पाउँदैन । यसले राजनीति, जागिर, व्यापार, व्यवसाय वा अन्य पेशामा अर्ध वा पूर्णकालीन संलग्न रहेकाहरू पत्रकार बन्न नपाउने भनिएको हो कि ? भन्ने प्रश्न उठाएको छ ।
प्रतिक्रिया