इटहरी- सुनसरीको इटहरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको दोस्रो दिन भएको खेलमा आयोजक राष्ट्रिय जागृति क्लब (राजा) सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार आयोजक राजा क्लब र भारतीय टिम कञ्चनजंघा फुटबल टिमबीच भएको खेलमा ट्राइबेकरमार्फत ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आयोजकले ५ गोल गर्दा कञ्चनजंघाका खेलाडीले गरेको प्रहार राजा क्लबका गोल किप्पर नीरज चौधरीले रोक्न सफल भएका थिए ।
निर्धारित समयको १३ औं मिनेटमा कञ्चनजंघाका लागि पुजन सुब्बाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता लिएको कञ्चनजंघाका लागि दोस्रो हाफपछि भने पटकपटक अवसर पाएपनि गोल गर्नबाट चुक्यो ।
खेलको ८४ औं मिनेटमा आयोजक राजा क्लबका लागि विदेशी खेलाडी नेपोलियनले १ गोल गर्दै खेललाई बराबरीमा फर्काए ।
निर्धारित समयमा १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा आयोजक राजा क्लबका लागि सुमित चौधरी, प्रवेश दनुवार, विशाल भण्डारी, उमेश कार्की र विदेशी खेलाडी नेपोलियनले गोल गरे ।
उता, कञ्चनजंघाका लागि अनिष राई, पुजन सुब्बा, अभिषेक लामा र सोरनले गोल गर्दा अरिन तामाङको गोल गोल रक्षक नीरज चौधरीले रोक्न सफल भएका थिए । खेलको म्यान अफ दि म्याच राजा क्लबका नेपोलियन घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
शनिबार भएको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भएको गोल्डकपमा भारतको एकसहित आठवटा टिम सहभागी छन् ।
क्लबका अध्यक्ष सन्त डुम्जनका अनुसार यस वर्षदेखि रात्रिकालीन फुटबल प्रतियोगिता सुरु गरिएको हो । रंगशालामा पाँचवटा ‘फल्ड लाइट’ वडान गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।
विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।
प्रतिक्रिया