भोजपुर - मुन्दुम पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ वैशाख १ गते देखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८१ सञ्चालन हुने भएको हो ।
मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडी पाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार संस्कृतिसँगै झाँकी प्रदर्शन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताउनुभयो । महोत्सवमा जैविक (अर्ग्यानिक) खानाका परिकार तथा प्रदर्शनी रहने उहाँको भनाइ छ ।
महोत्सव अवधिभर मुन्दुम पदमार्गको वृत्तचित्र प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शन,बाघ खोरबाट चखेवासम्म मुन्दुम दौड, कविता वाचन प्रतियोगिता तथा विभिन्न कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा स्टलहरूको प्रदर्शनी भने २५ गतेसम्म रहने पर्यटन क्षेत्रका विज्ञ विवेक कुलुङले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२५ लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवको लागि टेम्केमैयुङ गाउँपालिकाले दश लाख बजेट विनियोजन गरेको छ ।
महोत्सवमा कविहरू ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको प्रस्तुति रहने आयोजकको भनाइ छ । त्यस्तै कलाकारहरूमा दयाहाङ राई, भीषण मुकारुङ, कमली कान्त भेटवाल, सुनिता थेगिम, बविता किराँती, चन्द्रकला राई, उमेश राईलगायतको प्रस्तुति रहने जनाइएको छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठुला–ठुला घाँसे मैदान, स्थानीय गोठवालाहरूले पालेका चौँरी, भेडी गोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको छ ।
महोत्सव स्थल चखेवा धरानबाट ६ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ । त्यस्तै काठमाडौँबाट करिब १० घण्टा (३०० किमी) दूरीमा छ ।
प्रतिक्रिया