सुन्दास र राराहाङ पुरस्कृत 

शनिबार, ०१ बैशाख २०८१
इलाम /  यस वर्षको आशिष् स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार विक्रम सुन्दास र क्रियाशील पत्रकार महिला पुरस्कार रिता राराहाङलाई प्रदान गरिएको छ । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुमा भएको एक कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले हरेक वर्ष मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान गर्ने यो पुरस्कार सुन्दासलाई प्रदान गरेको हो । सुन्दास फिक्कलबाट सञ्चालित रेडियो बुद्धवाणी एफएमका समाचार प्रमुख हुन् । राराहाङ इन्डिजिनियस टेलिभिजन र सप्तकोसी एफएममा कार्यरत छिन् । उनीहरुलाई सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गा बराल, नेपाल पत्रकार महासङ्घका कोसी प्रदेश कार्यवाहक अध्यक्ष लभदेव ढुङ्गाना, नेपाल पत्रकार महासङ्घ इलाम अध्यक्ष लगायतका अतिथिहरूले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । दुवै पुरस्कार जनही दश दश हजार राशिको रहेको हो । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष् राईको २०५९ साल वैशाख १ गते इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरूले ‘आशिष् स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष् राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार