मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो : मुख्यमन्त्री कार्की

आइतबार, ०९ बैशाख २०८१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो मुख्यमन्त्री पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै भएको बताएका छन् । शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको भुटानी शरणार्थी शिविरमा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कुनै पनि कुरा अर्कै तरिकाले प्राप्त हुने भन्दै आफूलाई पनि गोमा ब्रह्माणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै मुख्यमन्त्री पद प्राप्त भएकाले सितिमितिले नजाने बताएका हुन् । ‘यो पद सितिमिति जाँदैन, अविश्वास प्रस्ताव ल्याउने ठाउँ पनि छैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘अबको दुई वर्षसम्म आरामले जान्छ, तपाईंहरूको सेवा राम्ररी गर्न पाइन्छ, ढुक्क हुनुहोस्, जनताको सेवामा यो सरकार लाग्छ । जनताको भाग्य र भविष्यलाई यो सरकारले परिवर्तन गरेर अघि बढ्छ । तपाईंहरू सरकार परिवर्तन हुन्छ कि भनेर नबस्नुहोस् । म पदमा नभए पनि यो स्वास्थ्य चौकीलाई सधंै सहयोग गर्नेछु ।’ आफूले हात्तीमैत्री पदयात्राका क्रममा धेरै साथीलाई जंगलमै भेटेको भन्दै उनले जंगली हात्तीले नेपाली मा¥यो भने उसले क्षतिपूर्ति पाउने अनि आफ्नै देशमा आफ्नै भूमिमा भुटानको नागरिकता भएका मान्छेले क्षतिपूर्ति नपाउने, के भुटानी नागरिकता भएको मान्छे होइन र रु भनेर प्रश्न गरे । एक अर्को प्रसंगमा उनले कोशी प्रदेश लगानीमैत्री प्रदेश हुने बताउँदै भने, ‘विश्वभरि छरिएर रहेका नेपालीलाई दान, चन्दा दिन र फोटो खिचाउन मात्र नआउनुहोस्, लगानी गर्न मात्र आउनुहोस्, लगानी गर्नुहोस्, प्रदेश सरकारले नाफा दिन्छ, त्यहीं लगेर बाँड्नुहोस्, तर हामीलाई मगन्ते नबनाउनुहोस् ।’ दुई एम्बुलेन्स हस्तारण कार्यक्रममा अमेरिकाको इन्ट्रा फाउन्डेसनले (नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका) पथरी शनिश्चरे नगरपालिकामा अवस्थित नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटनपछि पथरी शनिश्चरे स्वास्थ्यचौकीहित नगरपालिकालाई र झापाको दमक नगरपालिकालाई एक–एक एम्बुलेन्स उपलब्ध गराएको छ । ‘यहाँ बसोबास गर्ने जनताको स्वास्थ्य सुधारमा पनि आफ्नो भूमिका खेल्दै नगरपालिकालाई सहयोग गर्ने अवसर पाउँदा हामी अत्यन्तै खुसी भएका छौं स्वास्थ्य चौकीमा आवश्यक डाक्टर र नर्स पनि उपलब्ध गराउने छौं,’ इन्ट्रा फाउन्डेसनले भनेको छ । ‘हामी नेपाली संस्कृति जोगाउन सधैं एकजुट भएर अघि बढ्नुपर्छ । हाम्रो पहिचान सधैं हाम्रो भाषा, संस्कृति र खाँचोमा परेकालाई सहयोग गर्ने हो, साथै, हाम्रा विविध कार्यको फलस्वरूप स्वास्थ्य चौकी स्थापनार उद्घाटन गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा हामी हर्षित छौं,’ फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने । उनले यस फाउन्डेसनको मुख्य लक्ष्य हरेक नेपालीलाई सहयोग गर्ने रहेको बताए । आफू भुटानी शरणार्थी हुँदा र त्यस समयमा पाएको दुःख र संघर्षलाई पनि सम्झिए, सानो कुराका लागि गर्नुपरेको संघर्ष अब आएर कसैले गर्नु नपर्ने बताए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको कामलाई प्रशंसा गरेका थिए । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार