झापा। शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शङ्कास्पद रूपमा आगलागी भएको झापा मेचीनगर स्थित ज्यामिरगढीमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्सलाई क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको छ ।
पक्का माललाई जोगाएर कच्चा माल मात्र आगलागीमा परेको आरोप लागेको सो प्लाई उद्योगको राम्रोसँग छानबिन पनि नगरीकन बिमा भुक्तानी गरी क्षतिपूर्ति दिन लागिएपछि बिमा कम्पनीमाथि समेत गम्भीर प्रश्न उठेको छ ।
राजस्व छल्दै आएको प्लाई उद्योग बिमा कम्पनीसमेत डुबाउँदै
दुई वटै बिमा कम्पनीले आगलागीको विस्तृत अनुसन्धान नै नगरी भगवतीको मागअनुसार नै क्षतिपूर्ति दिन लागेका हुन् । शिखर इन्स्योरेन्सले छानबिन सकिन लागेको र क्षतिपूर्ति दिने पक्का भएको जनाएको छ । भगवती लेमिनेट्सले प्रिमियम बुझाएको यसअघि नै सार्वजनिक भइसकेको सिद्धार्थ बिमा कम्पनीले भने आफूहरूले बिमा नै नगरेको दाबी गरिरहेको छ ।
दुवै बिमा कम्पनीका प्रतिनिधि आधिकारिक रूपमा यस’दयगत बोल्न नचाहेकाले सञ्चालक तथा कर्मचारीले आपसी मिलेमतो र लेनदेन मिलाएर सर्वसाधारण लगानीकर्तालाई समस्यामा पार्न लागेको आरोप लागेको छ ।
गत २८ फागुनमा एकाबिहानै उद्योगमा आगलागी भएको थियो । आगलागीमा उद्योगका मुख्य संरचना जलेर ध्वस्त भएका थिए । राजस्व विभागले राजस्व छानबिन गरिरहेकाले सो छानबिन छल्न उद्योगमा नक्कली आगलागी गराइएको आरोप लाग्दै आएको छ ।
भगवती लेमिनेट्समा हुने गरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानबिनसमेत प्रभावित पार्ने गरी उद्योगमा नक्कली आगलागी गराइएको थियो । उद्योगले करोडौँ राजस्व हिनामिनाको थप अनुसन्धान नहोस् भनेर आगलागी गराएको बताइएको छ । आगलागी हुनु पूर्व कच्चा सामान उद्योगमा थन्काइएको र पक्का माल अन्यत्रै गोदाममा सारिएको स्थानीय बताउँछन् ।
बिमाबापत आउने करोडौँ रकम पचाउन खाली गोदाममा नक्कली आगलागी गरिएको आरोप पनि लाग्दै आएको छ । भगवती लेमिनेट्सका मुख्य सञ्चालक रजनीश कर्नानीलगायतको योजनामा नै उद्योगमा आगलागी भएको आरोप रहेको छ ।
कम्पनीले ठुलो क्षति भएको दाबी बिमा कम्पनीमा गरिए पनि आगलागी हुनुअघि सम्पूर्ण मूल्यवान् सामानहरू निकालिएको र कवाडी सामानहरू मात्र थुपारेर आगलागी गरेको आरोप रहेको छ ।
सो भगवती लेमिनेट्सले यसअघि २५ करोडको राजस्व हिनामिना गरेको थियो । तर, पछि मिलेमतो र सेटिङमा ३२ लाख मात्र तिरेर राजस्व छलेको थियो । झापा मेचीनगर स्थित ज्यामिरगढीमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्सले बिमा रकम हत्याउनका लागि योजनाबद्ध तवरमा आगो लगाएको भनाइ स्थानीयको छ ।
तयारी सामान सुरक्षित ठाउँमा राखेर आगलागी गराइएको र आठ वटा दमकललाई पनि आगो नियन्त्रणमा लिन हम्मे हम्मे पारेर अन्य कच्चा पदार्थ र संरचना ध्वस्त पारेको आरोप लागेको छ ।
कच्चा पदार्थका रूपमा रहेका केही काठसहित संरचना जलेको र भगवती लेमिनेट्सको प्लाई उद्योगका मुख्य संरचना जलेर काम नलाग्ने भएको प्रहरीले समेत उल्लेख गरेको छ ।
गत वर्ष मात्र राजस्व हिनामिनामा भगवती लेमिनेट्स उद्योगका तत्कालीन सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई एकपछि अर्को गर्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो ।
लामो समयसम्म अनुसन्धान गर्नुपर्ने फाइल अनुसन्धान नभई रोकिएपछि तत्कालीन समयमा राजस्व अनुसन्धान विभागको नियतमाथि समेत प्रश्न उठेको थियो । स्रोतका अनुसार लेमिनेट्सले सर्क सर्किट भएर आगो लागेको र यसबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन बनाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा इन्स्योरेन्स दाबी गरेको थियो ।
शिखर इन्स्योरेन्सका निरीक्षकलगायत अन्य जिम्मेवार व्यक्तिलाई समेत प्रभावमा पारेर क्षतिपूर्ति लिन भगवती लेमिनेट्सका सञ्चालकहरू लागिपरेका छन् । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्सले वार्षिक १ अर्बभन्दा बढी कारोबार गर्ने गरेको थियो भने सरकारी संयन्त्रको आँखा छल्न कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालयसमेत छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको थियो ।
झापामा रहेको लेमिनेट्सका दुई वटा कार्यालयमध्ये मेचीनगरमा पक्का बिल अर्थात् भ्याट बिलको कारोबार गरी काम गर्ने र धुलाबारीमा रहेको अर्को कार्यालयबाट भने कच्चा बिल अर्थात् नर्मल बिलबाट कारोबार हुने गरेको स्रोतले दाबी गरेको छ ।
नेपाली लगानीकर्ताको भनेर उद्योग खोले पनि मूल लगानीकर्ता भने सीमापारिका रहेको र दोहोरो बिलको फण्डा खुल्नासाथ फसाउनकै लागि नेपालीलाई हैसियतबिनाका मालिक बनाएर राखिएको थियो ।
नेप्लाई ब्रान्डलाई आक्रामक विस्तार गरेको भगवती लेमिनेट्सले उत्पादन गरेको ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका प्लाइउडमध्ये ‘ए’ ग्रेडको प्लाइउड बिक्री गर्दासमेत भ्याट छल्नकै लागि ‘सी’ ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्ने गरेको पाइएको थियो ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया