इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन् ।
यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुको अहिलेसम्ममा ५ हजार ५० मत आएको छ ।
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो। एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो।
बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्। सुहाङ पेसाले अधिवक्ता पनि हुन्।
बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्। बुवा सुवाससँगकै सल्लाहमा उनले फुटबल क्लब पनि किनेका थिए।
व्यवसायमा जम्दै गरेका सुहाङ अब प्रतिनिधिसभा सांसद बनेर संघीय संसद् छिर्ने भएका हुन्। उनले यसलाई आफ्नो र पार्टीको मात्रै नभई सिंगो इलामेलीको जितको रुपमा लिएको बताए।
लारुम्बामा सबैभन्दा बढी मत मुढाको
किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन् ।
प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत नकटाउँदा थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो । थेगिम पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार हुन् ।
थेगिमले यस वडामा १ हजार ३२ मत ल्याए । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले यस वडामा ३ मत ल्याएका छन् ।
२ हजार ७ मतदाता रहेको यस वडामा १ हजार १ सय ९२ मत खसेको थियो । उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि एमाले, कांग्रेसलगायत दलका नेतासमेतले निर्वाचन मुखमा गुरुसँग दर्शन भेट गर्नुले ‘राजनीतिक अपेक्षा’को चर्चा चलेको थियो ।
प्रतिक्रिया