उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । तरहरा जेसीज वर्ष २०१३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।गत माघ २८ गते भएको उवासंघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित पराजुलीसँग समसामयिक विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश –चुनाव जितिसकेपछि मतदाताको प्रतिक्रिया के पाउनुभयो ?
-मुख्यतयाः इटहरीमा पार्किङको विषयमा व्यवसायी साथीहरूले गुनासो गर्नुभएको छ । पहिलो चरणमै मेरो काम भनेको स्थानीय सरकार र शान्ति सुरक्षाका निकायसँग समन्वय गरी पार्किङ व्यवस्थापनका लागि भूमिका निर्वाह गर्नेछु ।
खासगरी इटहरीमा व्यवसायिक करको विषयमा पनि समस्याहरू आइरहेका छन् । उपमहानगरले कर चुक्ताको आधारमा व्यापारीसँग कर लिने गरेको छ । अब कर चुक्ताको आधारमा नभई पुँजीको आधारमा कर लिनुपर्छ भनेर हामीले ठोस कदम चाल्नेछौँ ।
करको कुरा उठिरहँदा घरबहालको पनि समस्या छ । खासमा घरबहाल कर घरधनीले तिर्नुपर्ने हो, व्यापारीले नै तिरिरहेको अवस्थामा यसको निमयनका लागि तपाईँ नेतृत्व उवासंघको भूमिका के हुनसक्छ ?
-खासमा घरबहाल कर सम्बन्धि सरकारको ऐन नै बनेको छ । घरबहाल कर व्यवसायीले होइन, घरधनीले तिर्नुपर्ने हो । सोही अनुसार ऐन छ । तर, अहिलेपनि व्यवसायीले नै घरबहाल कर तिर्नुपरेको अवस्था विद्यमान छ । यो धेरै वर्ष अगाडिदेखि उठेको कुरा हो, कार्यान्वयन भने हुन सकेको छैन । अब घरबहाल कर व्यवसायीले होइन, घरधनीले तिर्नुपर्छ भनेर हामी पहल गर्नेछौँ । कति सम्भव हुन्छ, त्यसका लागि व्यापारी साथीहरूको पनि आवश्यक सहयोग चाहिन्छ ।
तपाईँसँग व्यवसायीका अपेक्षा के छन् ?
-अपेक्षा धेरै नै छ । अहिलेको नेतृत्वले फरक किसिमले काम गरोस् भन्ने आम व्यवसायीको चाहना रहेको बुझेको छु । ठूला–ठूला काम भन्दा पनि व्यवसायीहरूले मसिनो कामको अपेक्षा गर्नुभएको छ । साना, मझौला र ठूला व्यवसायीलाई समेटौँ भन्ने धेरैजसोको अपेक्षा छ ।
व्यवसायीका समस्या चैँ केके छन् ?
-इटहरीमा सबैभन्दा पहिलो कर र दोस्रो भनेको पार्किङको समस्या छ । हाल कर, पार्किङ व्यवस्थापनसँगै घरबहाल कर, बैँकिङ ऋण, बिहीबार र शनिबार हुने बन्दबारे अन्यौलता र लेनदेन जस्ता समस्या रहेको छ । आजकै दिनमा पनि मैले उद्योग वाणिज्य महासंघसँग यी समस्याबारे टेलिफोनमार्फत संवाद गरेको छु । व्यवसायीका साना समस्या समाधान नभएको अवस्थामा माथिल्लो निकायसँग कुरा गरेर समस्या समाधान गर्नका लागि मेरो भूमिका हुनेछ । खासगरी मैले भन्दा पनि मेरो नेतृत्वको टिमले व्यवसायीका समस्या समाधान गर्ने कुरामा दुईमत रहन्न ।
तपाईंका योजना के छन् ?
-मेरो घोषणा पत्रमै मेरा कार्ययोजना स्पष्ट छन् । कसैको पक्ष, विपक्षमा नलागीकन सबैलाई समेटेर काम गर्छु । यो टिम समस्याप्रति जुध्छ । धेरै काम गर्न बाँकी छ । कर्मचारी व्यवस्थापनदेखि आगामी दिनमा अनलाइनबाट नवीकरण गर्न सकिने योजना बनाएर काम गर्नुपर्नेछ । अब व्यवसायी साथीहरूले आफ्नै पैसाले नवीकरण गरेर भोट हाल्ने वातावरण बनाउन मेरो टिमले भूमिका खेल्नेछ ।
उवासंघलाई राजनीतिक भ¥याङ बनाएर स्थानीय तहको नेतृत्व वा सांसद ताक्ने चलन छ भनेर बजारमा सुनिन्छ नि ?
-पहिलो कुरा त म विशुद्व व्यवसायीको नेता बन्न उवासंघमा आएको हुँ । अहिले म व्यवसायीकै नेता हुँ, तत्काल राजनीतिक नेता बन्दिन । तीन वर्षे कार्यकालमा व्यवसायीका समस्याप्रति खटिनेछु । यो समयसम्म म संघ, संस्थामै काम गर्नेछु । म दलीय हिसाबमा राजनीतिक नेतृत्व अहिले नै लिने भन्ने पक्षमा छैन ।
अन्त्यमा तपाईंलाई भन्न मन लागेका केही कुरा छन् ?
-व्यवसायीहरूलाई धैर्य गर्न मेरो आह्वान छ । भन्ने बित्तिकै काम नहुन पनि सक्छ । सबैबाट सकारात्मक सुझाव, सल्लाह र मार्गनिर्देशनको अपेक्षा गर्दछु । यो टिमलाई सफल बनाउनका लागि सबै व्यवसायीको सहयोगको आवश्यक छ । कुनै समस्या हुँदा फोनमार्फत पनि सुझाव र गुनासो लिन्छु । भन्नेबित्तिकै सबै ठाउँमा नपुग्न पनि सकिन्छ । तर, व्यवसायीमा आइपर्ने समस्याको न्यूनीकरणका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्छु भन्ने आत्मविश्वास छ । उद्योग वाणिज्य संघ इटहरी सबै व्यवसायीको साथमा रहेको अनुभूति दिलाउनेगरी काम गर्छु ।
प्रतिक्रिया