ताप्लेजुङ / नेपाल र चीनको सीमा तिब्बत सिमाना सडक पुगेको छ । स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएको हो । नेपाली गाडी (सवारी साधन) पुग्न थालेका छन् ।
उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि टिपतालासम्म नेपाली सवारी साधन पुग्न थालेका हुन् ।
द्विदेशीय सिमाना टिपताला भन्ज्याङ पाँच हजार १०० मिटरको उचाइमा पर्दछ । यहाँको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित टिपताला नाकासम्म नेपाली सवारी साधनअन्तर्गत पहिलो पटक एक्साभेटर र ट्र्याक्टर पुगेको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिए ।
सुकेपानीदेखि ओलाङ्चुङगोलासम्म ट्र्याक निर्माण सम्पन्न भएको र गोलादेखि टिपतालासम्म पहिले निर्माण भएको सडकको मर्मत तथा स्तरोन्नति गरिएपछि नेपाली गाडी पु¥याउन सम्भव भएको वडाध्यक्ष शेर्पाको भनाई छ ।
सडक निर्माण तथा स्तरोन्नतिको काम भने एसवीए एलाइट जे भी कम्पनीले गरिरहेको छ । गत चैत मसान्तभित्रै टिपतालासम्म सडक जोड्ने निर्माण कम्पनीले राखेको लक्ष्य भने पूरा भएको थिएन ।
सडक निर्माणका क्रममा सुके पानी–जोङगिन खण्डमा कडा चट्टान भेटिएपछि निर्धारित समयमा टिपताला जोड्ने लक्ष्य असफल भएको हो ।
टिपतालासम्म सवारी साधन पुगेपछि जिल्लावासी भने हर्षित भएका छन् ।
सबैभन्दा बढी टिपताला सिमाना नजिकको बस्ती ओलाङ्चुङगोला, याङमा र घुन्साका बासिन्दा खुसी भएका हुन् ।
यसै गरी टिपतालासम्म यो सडक विस्तार भएसँगै भारत, नेपाल र चीनसम्म सडक सञ्जाल जोडिएको छ ।
भारतको सिमाना विराटनगर रानीदेखि तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोक मार्गले तिब्बतसँगको सिमाना टिपताला जोडेको छ । लम्बाई करिब दुई सय ९२ किलोमिटर रहेको यो सडक मार्गलाई भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गका रूपमा लिने गरिएको छ ।
यता सडक पहुँच विस्तार भएर गाडी टिपतालासम्म पुगे पनि नाका सञ्चालनमा आउन सकेको छैन ।
कोरोना (कोभिड–१९) महामारीसँगै बन्द भएको टिपताला नाका पाँच वर्षदेखि बन्द रहेको छ ।
प्रतिक्रिया