प्रहरीका अनुसार तामाङ अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका उनी सजायमा माफी मिनाहा पाएर कारागारबाट छुटेको खुलेको छ । जेलबाट छुटेपछि पनि उनी विभिन्न अपराधमा संलग्न भएको देखिन्छ । आपराधिक पृष्ठभूमिका तामाङ विभिन्न अपराधमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ ।प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर दाहालको हत्या गरेका हुन् । तामाङले अन्य युवाहरुको सहयोग लिएर दाहाल र उर्लाबारी–४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर आफ्नो घरमा लगेका थिए । उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिक रहेको घरमा उनी एक्लै बस्थे । तामाङले घरमै पुर्याएको दाहालको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीका अनुसार उर्लाबारी–५ का अन्दाजी २५ वर्षीय करण लिम्बू, उर्लाबारी–६ का अन्दाजी ३० वर्षीय रिजन आलेमगर र उर्लाबारी–७ का अन्दाजी २८ वर्षीय आङसुहाङ देवानले दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्याउन मद्धत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । तर, हत्यामा उनीहरुको संलग्नता पुष्टि हुने आधार प्रहरीले भेटेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले फरार रहेका उनीहरुको खोजी गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा लिम्बू, आलेमगर र देवानको प्रत्यक्ष संलग्नता देखिँदैन । तामाङको घरसम्म लैजान सहयोगीको भूमिका चैं निर्वाह गरेको खुलेको छ । घटनापछि आचार्यलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । आचार्यलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार दाहालमाथि तामाङले मात्रै लाट्ठी र खुकुरी प्रहार गरेको खुलेको छ । दाहालको हत्या भएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार तामाङले आफ्नो मोबाइल चोरी गरेको आरोप दाहालमाथि लगाएका थिए । त्यही विषयमा विवाद हुँदा दाहालको हत्या गरिएको डीएसपी बस्नेतले बताए । त्यस क्रममा तामाङले आचार्यलाई समेत लाट्ठीले हानेको खुलेको छ । आचार्यले भने तामाङसँग केही दिनअघि १ हजार रूपैयाँ सापटी लिएर फिर्ता नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाइएको रहेछ । आचार्यले सापटी लिएको पैसा फिर्ता गरेका रहेनछन्,’ डीएसपी बस्नेत भन्छन्, ‘दुवै जनालाई उर्लाबारी चोकमा भेटेपछि केही युवाहरुको सहयोग लिएर तामाङले आफ्नो घरमा लगेछन् । अनि लाट्ठी र खुकुरीले प्रहार गरेछन् ।’ उनका अनुसार पैसा फिर्ता नगरेको भनेर तामाङले आचार्यमाथि पनि लाट्ठीले प्रहार गरेको खुलेको छ । तामाङको आक्रमणबाट गम्भीर घाइते भएका दाहाललाई आचार्यले नै सिटी सफारीमा राखेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्याएका थिए । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापा बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएपनि उपचारका क्रममा मंगलबार राति ८ः४० बजेतिर दाहाललाई चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक दाहाल र आचार्य साथी हुन् । आचार्यलगायतका युवा घटनाका प्रत्यक्षदर्शी रहेको खुलेको छ ।
प्रतिक्रिया